हैजा भनेको सामान्य खालको संक्रमण हो । तर, यही सामान्य संक्रमणबाट समेत नेपालमा बर्सेनि कैयौं नागरिकले ज्यान गुमाइरहेका छन् । यस वर्ष पनि हैजाका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ । यसतर्फ सरकार र सरोकारवालाहरूको भूमिका महत्वपूर्ण छ । नागरिकलाई दूषित भएको खाना खान हुन्न र दूषित पानी पिउन हुन्न भनेर मात्र सिकाउन सकियो भने हैजाबाट धेरैको ज्यान जोगाउन सकिन्छ । तर, यही कुरा सिकाउन नसक्दा नागरिकको ज्यान जोगाउनबाट राज्य चुकिरहेको छ ।
यसवर्ष पनि देशभर हैजाका बिरामी बढ्दै गएका छन् । हैजाको प्रकोप फैलिँदा अस्पतालहरूमा बिरामीको चाप बढ्दो छ । कति नागरिक प्रभावित भए भन्ने यकिन तथ्यांक सरकारसँग छैन । तथापि, वीरगन्जमा मात्रै शुक्रबार यता ७३ जनामा हैजा संक्रमण पुष्टि भएको छ । तीमध्ये झाडापखालाको लक्षण देखा परेर उपचार गराउन अस्पताल पुगेका दुई जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार वीरगन्जका विभिन्न अस्पतालमा ७१ जना हैजा संक्रमित बिरामी उपचारत छन् । यो तथ्यांक हेर्दा जति सानो छ, त्यति डरलाग्दो र गम्भीर छ । दूषित खाना र दूषित पानी पिउनुहुन्न भनेर नागरिकस्तरमा जनचेतना फैलाउन राज्यले आवश्यक पहल नलिँदाको परिणाम वीरगन्जमा भएकोे मानवीय क्षति र प्रभाव हो । सरकार र राजनीतिक दल नागरिकलाई विकास र समृद्धिका ठुला सपना देखाइरहेका हुन्छन् । तर, बेलैमा यस्ता संक्रमणलाई महामारीको रूप लिनबाट रोक्न सकिरहेको छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हैजाले महामारीको रूप लियो भने वर्तमान स्वास्थ्य सेवाअन्तर्गतको भौतिक संरचनाले थाम्न नसक्ने अवस्था आउन सक्छ । अहिलेकै दरमा बिरामी बढ्दै जाने हो भने जनशक्तिले जसोतसो धाने पनि अस्पतालमा बेडको अभाव हुन सक्छ । अर्थात् सरकार आफैं हैजाले महामारीको रूप लिने चिन्तामा छ । तर, आवश्यक पूर्वतयारी र जनचेतना फैलाउनमा ध्यान दिइरहेको छैन । यस्तोमा नागरिकमा राज्यप्रति विश्वास कम हुँदै जान्छ र निराशा बढ्न जान्छ । नागरिक आक्रोशमा संघीय सरकार मात्र होइन, प्रदेश र स्थानीय सरकारसमेत पर्नेछन् । घरआँगनको सरकारको उपमा पाएको स्थानीय सरकारको भूमिका पनि यस्तै बेलामा हुने हो । यसकारण तीनवटै सरकार र राज्यका निकायहरूले दतारुकताका साथ हैजा नियन्त्रणमा भूमिका खेल्न आवश्यक छ । ताकि हैजाकै कारण नागरिकले थप क्षति बेहोर्न नपरोस् ।