२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

३५ देशसँग द्विपक्षीय श्रम सम्झौता गर्ने योजना : श्रममन्त्री भण्डारी

Nada
२०८२ भदौ ७ गते ०६:३०
Shares
३५ देशसँग द्विपक्षीय श्रम सम्झौता गर्ने योजना : श्रममन्त्री भण्डारी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालले ३५ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने योजना बनाएको बताएका छन् । 

ncell

प्रतिनिधि सभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती मगरले आन्तरिक रोजगारीमा वृद्धि र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने विषयमा राखेको प्रश्नको जवाफमा मन्त्री भण्डारीले उक्त जानकारी दिएका हुन् ।

मन्त्री भण्डारीले श्रम गन्तव्य मुलुकसँग गरिने सबै द्विपक्षीय श्रम सम्झौतामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले स्थापित गरेका मापदण्डअनुसार गरिने बताए ।

मन्त्री भण्डारीले तत्कालै खाडी मुलुकको प्रमुख गन्तव्य मुलुक साउदी अरेबियासँग श्रम सम्झौता गर्ने तयारी रहेकोे र त्यसको मस्यौदामा मन्त्रिपरिषद्मा छलफल भइरहेको जानकारी दिए ।

उनले कतिपय मुलुकमा श्रमिकको न्यूनतम तलब तोक्ने अभ्यास नरहेको अवस्थाले समस्या रहेपनि नेपालले न्यूनतम तलब तोक्ने अभ्यास सुरु गरेको जानकारी दिए । उनले भने, ‘यूएईका लागि अदक्ष कामदारको न्यूनतम तलब आठ सय दिराम र खानाबापत चार सय दिराम रहेछ, त्यसलाई बढाएर न्यूनतम तलब एक हजार दिराम र खानाबापत चार सय गरी १४ सय बनाएका छौं ।’ 

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने १८ लाख ३५ हजारभन्दा बढी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा दर्ता गरेर उनीहरू सुरक्षित गरिएको भन्दै वैदेशिक रोजगारमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने स्किम ल्याउने देश नेपाल मात्रै रहेकोे बताए ।

मन्त्री भण्डारीले सीप नभएको कामदार वैदेशिक रोजगारमा जान हुँदैन भन्ने मान्यतामा रहेकोे भन्दै भैंसेपाटीस्थित तालिम केन्द्रलाई ऐनमार्फत नै प्रतिष्ठानको हैसियतमा विकास गरेको बताए ।

मन्त्री भण्डारी वैदेशिक तथा आन्तरिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्यअनुसार हालसम्म ६ लाखभन्दा बढीलाई आबद्ध गरिएको जानकारी दिए । उनले भने, ‘हालसम्म २१ हजार ३ सय ९२ औपचारिक रोजगारदाता र ६ लाख १३ हजार ७ सय १८ जना श्रमिक कोषमा सहभागी छन् ।’

मन्त्री भण्डारीले प्रदेश र स्थानीय तहसँग संविधानको मर्मअनुसार संघीय संरचनामा श्रम–रोजगार सेवा एकीकृत गर्ने गृहकार्य भइरहेको भन्दै मन्त्रालयले सञ्चालनमा ल्याएको श्रम संसार एप्सले रोजगारदाता र कामदार दुवैलाई लाभ पुर्‍याएको बताए ।

मन्त्रालयले आन्तरिक रोजगारीको माग सम्बोधन गर्न आन्तरिक रोजगार व्यवस्थापन महाशाखा गठन गरेर महत्वका साथ काम गरिरहेको पनि मन्त्री भण्डारीले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर