काठमाडौं : वैदेशिक रोजगार क्षेत्रको अग्रणी कम्पनी प्याराडाइज इन्टरनेसनल प्रालिले आफ्नो स्थापनाकालको रजत महोत्सव मनाएको छ ।
सो कम्पनीले आइतबार राजधानीको सोल्टीमोड ताहचलस्थित हायात सेन्ट्रिकमा स्वागत समारोहको आयोजना गरेर रजत महोत्सव मनाएको हो । अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आइएसओ प्रमाणित प्याराडाइज इन्टरनेसनल आर्थिक वर्ष २०५७/५८ मा नेपाल सरकारबाट इजाजतपत्र प्राप्त कम्पनी हो ।
विगत २५ वर्षदेखि वैदेशिक रोजगार सेवा दिइरहेको उक्त कम्पनीले साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, बहराइन, मलेसिया, लिबिया, जोर्डन, जापानलगायतका देशहरूमा हालसम्म एक लाखभन्दा बढी युवायुवतीलाई रोजगारीका लागि पठाएको बताएको छ ।
कम्पनीले सामान्य कामदार र सुरक्षागार्डदेखि दक्ष इन्जिनियर, चार्टर्ड एकाउन्टेन्ट, चिकित्सकलगायतलाई आकर्षक रोजगारी उपलब्ध गराएको कम्पनीका अध्यक्ष नवराज केसीले बताए ।
अध्यक्ष केसीले १० जना कर्मचारी साथ लिएर एउटा फ्लोरबाट सुरु भएको प्याराडाइजले हाल १ सय २० कर्मचारीका साथ ललितपुरको बखुण्डोलस्थित आफ्नै भवनबाट सेवा दिइरहेको उल्लेख गर्दै यो सफलताको श्रेय विश्वास गरी प्याराडाइजलाई वैदेशिक रोजगारीको माध्यम बनाएका युवायुवती र स्थापनादेखि रजत उत्सवसम्म प्याराडाइजलाई निरन्तर योगदान गर्ने कर्मचारीलाई जाने बताए ।
नेपालको वैदेशिक रोजगारको क्षेत्रले जुन आरोह अवरोह यो २५ वर्षमा भोग्यो त्यसको साक्षी प्याराडाइज पनि रहेको भन्दै अध्यक्ष केसीले प्याराडाइजले एक लाख बढी युवायुवतीलाई विदेशमा सुरक्षित रोजगारीमा पठाएर उनीहरुको जीवनमा मात्र परिवर्तन नगरी मातृभूमिलाई पनि अविस्मरणीय योगदान दिएको बताए ।
अध्यक्ष केसीले भने, ‘तमाम समस्याका बाबजुद पनि आज देशले जसरी सास फेरिरहेको छ, त्यसको मुख्य कारण वैदेशिक रोजगारीमा गएका नेपालीको पसिनाको मूल्यबापत प्राप्त भएको रेमिट्यान्स हो । त्यसैले यो पेशामा लागेका हामी सबैले सगौरव भन्न सक्नुपर्छ– हाम्रा कारण देश असफल हुनबाट जोगिएको छ र देशको अर्थतन्त्र बचिरहेको छ ।’
प्याराडाइजले समयसापेक्ष आफूलाई उभ्याउँदै मुलुकको कानुनबमोजिम पेशालाई मर्यादित बनाउने काममा निरन्तर योगदान गरिरहेको भन्दै अध्यक्ष केसीले आम जनताको विश्वास र प्याराडाइज परिवारको अथक मिहिनेतको परिणामले प्याराडाइज, एक अब्बल म्यानपावर कम्पनीमा दर्ज हुन सफल भएको घोषणा गर्न पाउँदा आफू निकै खुसी भएको बताए ।
उनले आउने दिनमा प्याराडाइज बदलिँदो सूचना प्रविधिसँग साक्षात्कार गर्दै देशको विद्यमान कानुनलाई शिरोपर गर्दै रोजगारीका नयाँ गन्तव्य र नयाँ अवसर खोज्दै आम जनता र देशको समृद्धिमा थप शक्तिशाली भएर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रजत महोत्सवका अवसरमा प्याराडाइजमार्फत यूएई गएको ८ महिनामा नै फर्किएका क्यान्सर पीडित युवराज चौलागाईं र सोही कम्पनीबाट यूएई गएको ३ महिनामा टाउकोमा समस्या देखिएर हाल मणिपाल अस्पताल, पोखरामा उपचार गराइरहेका मानसिक समस्याबाट ग्रस्त हिमाल पौडेललाई जनही ७५ हजार रुपैयॉ आर्थिक सहयोग प्रदान गरिएको थियो ।
नेपाली कांग्रेसका कोषाध्यक्ष तथा पूर्वराज्यमन्त्री उमेश श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका निवर्तमान सभापति, प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ, संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी, पूर्वअध्यक्ष दिलप्रसाद पोखरेल, प्रेमबहादुर कटुवाल, रोहन गुरुङ, महिला वैदेशिक रोजगार व्यवसायी संघकी अध्यक्ष प्रतिमा महर्जन, वरिष्ठ व्यवसायी हेम गुरुङ, राम श्रेष्ठ, संघका महासचिव महेश बस्नेत, सचिव कुन्छादोर्जे डिमडोङ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालका अध्यक्ष जनक रावल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष घनलाल जैसी, वैदेशिक रोजगार व्यवसायी तमु धिःका अध्यक्ष तिर्थबहादुर गुरुङ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका कार्यबाहक महासचिव तुलसी पुरी, मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक मदनकुमार श्रेष्ठलाई अतिथिको रूपमा आमन्त्रण गरिएको सो कार्यक्रममा विभिन्न व्यवसायीहरु र प्याराडाइजका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि श्रेष्ठ, सांसद रामहरि खतिवडा, संघका अध्यक्ष गुरुङ, पूर्वअध्यक्षहरू प्रेम कटुवाल, दिलप्रसाद पोखरेल, रोहन गुरुङ र हंशराज वाग्लेलगायतले आफ्नो मन्तव्य राख्दै प्याराडाइजलाई शुभकामना दिएका थिए ।
विशिष्ट अतिथि श्रेष्ठले निजी क्षेत्रलाई सहज रूपमा काम गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरे । सांसद खतिवडाले २५ वर्षमा एक लाखभन्दा बढी बेरोजगार युवा युवतीलाई वैदेशिक रोजगारीमा पठाएर प्याराडाइजले देशलाई नै गुन लगाएको उल्लेख गरे ।
सो अवसरमा कम्पनीमा अटुट रूपमा सेवा गर्ने सुमन पाठक र ब्रजेश केसीलाई जनही १ लाख १ हजार १ सय ११ रुपैयाँ नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने करिब अढाइ दर्जन कर्मचारीहरूलाई मायाको चीनोसहित सम्मान गरिएको थियो । सोही अवसरमा वरिष्ठ अधिवक्ता प्याराडाइज इन्टरनेसनलका कानुनी सल्लाहकार देवराज कटुवाललाई पनि विशेष सम्मान गरिएको थियो ।
उक्त कम्पनीले बेरोजगार युवायुवतीलाई विदेशमा रोजगारी उपलब्ध गराउनुका अतिरिक्त सामाजिक क्षेत्रमा पनि उल्लेख्य काम गरेको बताएको छ । मुख्यगरी २०७२ सालमा आएको विनाशकारी महाभूकम्प, कोभिड–१९ को महामारी, बाढी पहिरोलगायतका दैवी प्रकोपबाट पीडितहरूलाई राहत प्रदान गरेको प्याराडाइजले तत्कालीन युद्धग्रस्त लिबियामा फसेका करिब १८ सय बढीलाई उद्धार गरेबापत नेपाल सरकारका तर्फबाट सम्मानसमेत प्राप्त गरेको छ । कार्यक्रम सञ्चालन पत्रकार महेन्द्र भट्टराईले गरेका थिए ।
े