२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

कुवेतमा विषाक्त मदिरा सेवन प्रकरण : मृत्यु हुने नेपालीको संख्या ११ पुग्यो

४० जना उपचाररत, १५ को अवस्था गम्भीर

shivam cement
२०८२ भदौ १ गते ०६:१५
कुवेतमा विषाक्त मदिरा सेवन प्रकरण : मृत्यु हुने नेपालीको संख्या ११ पुग्यो

काठमाडौं : विषाक्त मदिरा सेवनबाट कुवेतमा हालसम्म ११ जना नेपाली कामदारको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले उक्त घटना भएपछि शुक्रबार सँझसम्म नौ जना नेपालीको ज्यान गएको खबर आएकोमा शनिबार थप दुई जनाको पनि ज्यान गएको विवरण प्राप्त भएको बताएका छन् । 

मृत्यु हुनेहरू सिन्धुपाल्चोक, बारा, पर्सा र मोरङलगायतका जिल्लाबाट वैदेशिक रोजगारीमा गएका कामदार रहेका छन् । गत साता मदिरा सेवन गरेका कामदारहरूमा समस्या देखिएको हो । सबैभन्दा पहिले आँखा धमिलो हुने त्यसपछि क्रमशः मुटु र मिर्गौलामा समस्या देखिएको बताइएको छ ।

नेपाली दूतावासले विवरण प्राप्त भएपछि कुवेती अधिकारीहरूसँग समन्वय गरी शव नेपाल पठाउने श्रम सहचारी आचार्यले जानकारी दिए ।

मुटु तथा मिर्गौलामा समस्या देखिएका बिरामीहरूको अस्पताल बसाइ लम्बिने बताइएको छ । मिर्गौलाको पटकपटक डायलासिस गर्नुपर्ने भएकाले उनीहरूलाई समस्या हुने बताइएको छ । 

दूतावासले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा कुवेतमा केही दिन पहिले विषादीयुक्त मदिरा सेवनका कारण भएको घटनामा करिब ३५ जना नेपाली नागरिकहरू अस्पताल भर्ना भएको जानकारी प्राप्त भएको बताएको थियो । शनिबार भने दूतावासले विज्ञप्ति जारी गरेको छैन । दूतावासले यस सम्बन्धमा सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रही अस्पतालमा उपचाररत बिरामीहरूको उचित उपचारका लागि निरन्तर समन्वय गरिरहेको बताएको छ । 

स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहन विशेष अनुरोध गर्दै दूतावासले कुनै जानकारी लिनुपरेमा दूतावासको ह्वाट्सएप नम्बर +९६५६१००८९५६ मा सम्पर्क गर्न सकिने बताएको छ । कुवेतका आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले शनिबारदेखि विषाक्त मदिरा सेवनबाट पीडित १ सय ६० जनाको उपचार भइरहेको बताएको छ । मन्त्रालयले धेरै बिरामीहरू आइसियूमा रहेको र चिकित्सकहरूको टोलीले कार्डियोपल्मोनरी रिसुसिटेशन (सिपिआर) गरिरहेको बताएको छ । ५१ जनालाई आपतकालीन डायलिसिस गरिएको छ । २१ जनाले स्थायी वा अस्थायी रूपमा आँखाको दृष्टि गुमाएका छन् ।

अधिकारीहरूले दूषित पेय पदार्थको स्रोतको अनुसन्धान गर्न अस्पताल र सुरक्षा एजेन्सीबीच समन्वय भइरहेको बताएका छन् ।

कुवेतमा रहेको भारतीय दूतावासले ४० जना भारतीय नागरिकलाई अस्पताल भर्ना गरिएको बताएको छ । तीमध्ये २३ जनाको ज्यान गएको बताइएको छ ।

नेपालीसहित दक्षिण एसियाली कामदारहरूले सस्तोमा पाइने मिथानोल, एन्टिफ्रिज र घोलक  जस्ता औद्योगिक उत्पादनहरूमा प्रयोग हुने विषाक्त मदिरा सेवन गर्ने गरेकोे बताइएको छ ।

विषाक्त मदिराका कारण टाउको दुख्ने, बान्ता आउने, दृष्टि धमिलो हुने, हृदयाघात भई मृत्यु हुने गरेको छ । कुवेतले मादक पदार्थको उत्पादन, बिक्री र उपभोगलाई कडाइका साथ निषेध गरेको छ । सुरक्षाकर्मीरूले अवैध रूपमा मदिरा उत्पादन बन्द गराउने अभियान तीव्र पारेको कुवेती सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise