नेपालमा विकास आयोजनाको अवस्था कस्तो छ ? जवाफका लागि कुनै एउटा राजमार्ग हेरे पुग्छ । एउटा राजमार्गमा सयौं ठाउँमा पुल बनाउने योजना बन्छ र अगाडि बढ्छ, तर वर्षौंसम्म आयोजना सम्पन्न हुँदैनन् । एकातिर पुल बन्दैछ भनेर नागरिकलाई आशा देखाइरहने र अर्कोतिर वर्षौंसम्म नबनाएर नागरिकलाई सास्ती दिने दोहोरो भूमिकाले नेपालको समग्र विकास नै प्रभावित तुल्याएको छ । आयोजना लम्ब्याएर बिचौलियाले आर्थिक लाभ दिने गरी नीति नै बदल्ने नेतृत्व शासन सत्तामा रहेको भनेरसमेत प्रश्न उठ्ने गरेको छ । यस्तो प्रवृत्तिले नागरिकमा समेत निराशा छ । यसको ज्वलन्त उदाहरण हो– पूर्वपश्चिम हुलाकी राजमार्गस्थित रौतहट–सर्लाही जोड्ने दुर्गा भगवती गाउँपालिकाको बडहरवामा बागमती नदीमा निर्माणाधीन पुल । जसको निर्माण सुरु भएको १६ वर्ष भयो । निकै तामझामका साथ शिलान्यास भएको पुल समयमा निर्माण नहुँदा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
पुलहरू निर्माणको काम पनि जतासुकै अलपत्र छ । रौतहटकै गौर–ईशनाथ नगरपालिका जोड्ने बकिया पुल निर्माण सुस्त छ । गुजरा नगरपालिकाको लमहा नदी पुल २०७५ वैशाख २० गतेसम्म बनिसक्नुपर्ने थियो, तर अझैसम्म बनेको छैन । गैडाटारस्थित चाँदी नदीमा निर्माणाधीन पुल पनि समयमा निर्माण हुन सकेको छैन । कटहरिया–गरुडा जोड्ने झाझ खोलामा पुल, तरहरी–झझ पुल, कटहरिया–गुजारा खोलाको पुल, तरहरी खोला पुल, पिपरिया दोस्तियालगायतका दर्जनौं पुल समयमा निर्माण हुन सकेका छैनन् । पुल मात्रै होइन, अन्य आयोजनाको अवस्था पनि उस्तै छ । भारतीय दूतावासको सहयोगमा रौतहटको गौरको जुद्ध माविमा निर्माणाधीन छात्रावास निर्माणको काम दुई दशकदेखि ठप्प छ । यसले देखाउँछ नेपालमा अयोजनाको योजना बन्छ, बजेटमा पर्छ, तर समयमा बन्दैन । समयमा बनाउन नसकिने आयोजना किन अगाडि बढाउने ? अगाडि बढाएको आयोजना समयमा नबनाउनेलाई किन कारबाहीमा नल्याउने ? यो प्रश्नको जवाफ दिन कोही तयार छैन । किनभने शासन सत्तामा रहेकाहरू समेत आयोजनाको योजना बाँड्न तल्लिन छन्, योजना बनाउन तदारुकता देखाइरहेका छैनन् ।
समयमै आयोजना नबन्नुको कारण के हो ? धेरैले दिने जवाफमा बजेट अभाव भन्ने आउँछ । यदि यही समस्या हो भने सरकारले सक्ने काम गर्छु भनेर बजेट विनियोजन गर्नुपर्छ । होइन भने अन्यथा जवाफ दिएर उम्किन मिल्दैन । समयमा आयोजना नबन्नुको अर्को कारण समयमै बजेट कार्यान्वयन नहुनु पनि हो । बजेट आएपछि कार्यान्वयनमा जाने प्रक्रिया नै लामो छ । जेठ १५ गते आएको बजेट माघ, फागुन महिनामा गएर कार्यान्वयन सुरु गर्ने अभ्यासमा समस्या पार्दै आएको छ । यस्तो अभ्यासले एकातिर गुणस्तरहीन काम भइरहेको छ भने अर्कोतिर समयमै योजना सम्पन्न हुन सकिरहेको छैन । यसकारण विकास आयोजना समयमै सुरु गर्नु र गुणस्तरीयताको निरन्तर अनुगमन गर्नु नै तत्कालको आवश्यकता हो । सरकारले यसमा ध्यान दियोस् ।