काठमाडौं : विषाक्त मदिरा सेवनबाट कुवेतमा शुक्रबार साँझसम्म ९ जना नेपाली कामदारको मृत्यु भएको छ । मदिरा सेवनबाट अशक्त बनेका नेपालीसहित ठुलो संख्यामा आप्रवासी कामदारलाई अस्पताल भर्ना गरिएको छ ।
कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले उक्त घटना भएपछि शुक्रबार सँझसम्म ९ जना नेपालीको ज्यान गएको खबर आएको जानकारी दिए । नेपाली दूतावासले शुक्रबार साँझ जारी गरेकोे विज्ञप्तिमा नेपालीको मृत्युु भएको उल्लेख भएपनि कति जनाको मृत्युु भएको संख्या उल्लेख गरेको छैन ।
विज्ञप्तिमा कुवेतमा केही दिन पहिले विषादीयुक्त मदिरा सेवनका कारण भएको भनिएको दुःखद् घटनामा करिब ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएको जानकारी प्राप्त भएको उल्लेख छ । निजहरूमध्ये केहीको मृत्यु भएको जानकारी पनि दूतावासमा प्राप्त भएको र केहीको गम्भीर अवस्थामा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ । केही बिरामीहरू विभिन्न अस्पतालमा सामान्य अवस्थामा उपचाररत रहेको पनि दूतावासले बताएको छ ।
विकसित दुःखद् घटनाको जानकारी प्राप्त हुनासाथ दूतावासबाट राजदूतलगायत अन्य कर्मचारीहरूले तुरुन्त विभिन्न अस्पताल भ्रमण गरी नेपाली बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिएको भन्दै दूतावासले यस सम्बन्धमा दूतावास सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रही अस्पतालमा उपचाररत बिरामीहरूको उचित उपचारका लागि निरन्तर समन्वय गरीरहेको बताएको छ ।
स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहन विशेष अनुरोध गर्दै दूतावासले कुनै जानकारी लिनुपरेमा दूतावासको ह्वाट्सएप नम्बर +९६५६१००८९५६ मा सम्पर्क गर्न सकिने बताएको छ ।
शुक्रबार कुवेतमा सार्वजनिक बिदा परेका कारण अपेक्षाअनुसारको विवरण प्राप्त हुन नसकेको बताउँदै श्रम सहचारी आचार्यले शव प्राप्त गरेपछि मात्रै नेपालीको पहिचान खुल्ने बताएका छन् । ‘शनिबार पनि बिदा छ, तर हामीले सकेसम्म छिटो नेपालीको शव प्राप्तिका लागि सम्पर्क गरिरहेका छौं,’ आचार्यले शुक्रबार मध्यान्ह दैनिकसँगको कुराकानीमा बताए । कुवेतका आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयले विषाक्त मदिरा सेवनका कारण एसियाली मुलुकका ६३ जनालाई अस्पतालमा भर्ना गरिएको बताएको छ । मन्त्रालयले धेरै बिरामीहरू आइसियूमा रहेको र चिकित्सकहरूको टोलीले ३१ जनामा कार्डियोपल्मोनरी रिसुसिटेसन (सिपिआर) गरिरहेको बताएको छ । ५१ जनालाई आपतकालीन डायलासिस गरिएको छ । २१ जनाले स्थायी वा अस्थायी रूपमा आँखाको दृष्टि गुमाएका छन् । अधिकारीहरूले दूषित पेय पदार्थको स्रोतको अनुसन्धान गर्न अस्पताल र सुरक्षा एजेन्सीबीच समन्वय भइरहेको बताएका छन् ।
नेपालीसहित दक्षिण एसियाली कामदारहरूले सस्तोमा पाइने मिथानोल, एन्टिफ्रिज र घोलकजस्ता औद्योगिक उत्पादनहरूमा प्रयोग हुने विषाक्त मदिरा सेवन गर्ने गरेको बताइएको छ ।
विषाक्त मदिराका कारण टाउको दुख्ने, बान्ता आउने, दृष्टि धमिलो हुने, हृदयाघात भई मृत्यु हुने गरेको छ । कुवेतले मादक पदार्थको उत्पादन, बिक्री र उपभोगलाई कडाइका साथ निषेध गरेको छ । सुरक्षाकर्मीरूले अवैध रूपमा मदिरा उत्पादन बन्द गराउने अभियान तीव्र पारेको कुवेती सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।