साउदी : श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरूको शुक्रबारदेखि श्रम वैधानिकीकरण गर्ने प्रक्रिया सुरु भएको छ । शुक्रबार रियादस्थित नेपाली दूतावासले आयोजना गरेको एक कार्यक्रममा आठ वर्षदेखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रिक लिएर साउदीका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले श्रम वैधानिकीकरण औपचारिक रूपमा सुरु गरे ।
कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जुनसुकै माध्यमबाट गएको भएपनि विदेशमा काम गर्ने श्रमिकलाई वैधानिकीकरण गर्ने अभियान सुरुवात गरेको भन्दै नेपाली दूतावास साउदी अरेबियाको प्रयास सराहनीय भएको बताए । श्रम स्वीकृति नहुँदा वैदेशिक रोजगारमा रहेका श्रमिक स्वदेश फर्किन नसक्ने भएकाले वैधानिकीकरण अभियान सुरु गरिएको मन्त्री भण्डारीले जानकारी दिए । साउदी अरेबियासँग द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर हुने तयारीबारे पनि उनले जानकारी दिए ।
राजदूत डा. ढकालले श्रम वैधानिकीकरणलाई अभियानकै रूपमा सञ्चालन गरिने उल्लेख गरे । उनले यस कार्यमा विभिन्न संघ संस्थाहरूको समन्वय र सहकार्य जरुरी रहेको उल्लेख गरे ।
राजदूत डा. ढकालका अनुसार सन् २०२४ सेप्टेम्बर ३० भन्दा अघि वैदेशिक रोजगारीका लागि साउदी अरबियामा आएका नेपाली श्रमिकहरूले श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको वैदेशिक रोजगार सेवा प्रवाह (दोस्रो संशोधन) कार्यविधि, २०८२ अनुसार सन् २०२४ सेप्टेम्बर ३० सम्म वैदेशिक रोजगारीमा रहेर वैधानिक रूपमा कार्यरत नेपाली श्रमिकहरूले दूतावासमा अनलाइन आवेदन दिएर वैधानिकीकरण श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था छ ।
यो व्यवस्थाअनुसार साउदी अरबमा सन् २०२४ सेप्टेम्बर ३० भन्दा पहिले आएका र वैधानिक रूपमा कार्यरत नेपाली श्रमिकहरूले आवश्यक कागजातसहित अनलाइन आवेदन दिन सक्नेछन् ।
दूतावासले सम्बन्धित सबै श्रमिकहरूलाई वैधानिकीकरणको माध्यमबाट श्रम स्वीकृति लिन आग्रह गरेको छ ।