२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

अमेरिकी करको सामना गर्दै मोदीको आत्मनिर्भरताको प्रतिज्ञा

shivam cement
मध्यान्ह
२०८२ साउन ३० गते १५:०१
अमेरिकी करको सामना गर्दै मोदीको आत्मनिर्भरताको प्रतिज्ञा

एजेन्सी : प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भारतलाई ऊर्जा स्वतन्त्र र आफ्नै शक्तिशाली रक्षा प्रणालीको विकासका साथ आत्मनिर्भर बनाउने प्रतिज्ञा गर्दै देशको हितलाई ‘पर्खालझैँ’ जोगाउने घोषणा गरेका छन् ।

वार्षिक स्वतन्त्रता दिवसको अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले भने, “आत्मनिर्भरता विकसित भारतको आधार हो । अरूमाथि अत्यधिक निर्भरता भए स्वतन्त्रताको अर्थ रहँदैन ।”

भारत अहिले अमेरिकाबाट थप आयात करको दबाबमा छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई रुसी तेल खरिद रोक्न अल्टिमेटम दिँदै अन्यथा अगस्ट २७ देखि भारतमा लागू २५ प्रतिशत आयात भन्सार शुल्क ५० प्रतिशत पुर्‍याइने चेतावनी दिएका छन् ।

भारतले युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई समर्थन गर्न ‘तयार रहेको’ बताएको छ र शुक्रबार अलास्कामा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने शिखर सम्मेलनलाई समर्थन गरेको छ । मोदीले भने, “हामी हाम्रो ऊर्जा आवश्यकताका लागि धेरै देशमा निर्भर छौँ । तर साँचो अर्थमा आत्मनिर्भर बन्न हामीले ऊर्जा स्वतन्त्रता हासिल गर्नैपर्छ ।” 

उनले वैज्ञानिक र इन्जिनियरहरूलाई लडाकु विमानका इन्जिन, सेमिकन्डक्टर चिप्स र सैन्य उपकरणहरूजस्ता क्षेत्रमा स्वदेशी उत्पादनमा ध्यान दिन आह्वान गरे ।

उनका अनुसार यसै वर्षको अन्त्यसम्म भारतमा बनेका सेमिकन्डक्टर चिप्स बजारमा आउनेछन् । भारतले आफ्नै अन्तरिक्ष स्टेसन बनाउने योजना अघि बढाइरहेको छ र अर्को दशकमा ‘डिफेन्स सिल्ड’ स्थापना गर्ने तयारीमा छ ।

मोदीले हालै पाकिस्तानसँग भएको चार दिनको द्वन्द्वमा सहभागी भारतीय सेनाप्रति सम्मान व्यक्त गरे । उनले अमेरिकी नीतिबारे प्रत्यक्ष टिप्पणी नगरी किसानका हितविरुद्ध हुने कुनै पनि कदमका विरुद्ध ‘पर्खालझैँ उभिने’ बताए ।

कृषि भारतको अर्थतन्त्र र रोजगारीको मुख्य आधार भएकाले व्यापार वार्तामा यो संवेदनशील विषय बनेको छ । मोदीले भने, “आर्थिक स्वार्थ बढ्दै गइरहेका बेला हामीले सङ्कटको मात्र चिन्ता नगरी आफ्नै शक्तिमा केन्द्रित हुनुपर्छ ।”

ADV

सम्बन्धित खबर

Advertise