काठमाडौं : विषाक्त मदिरा सेवनबाट कुवेतमा १३ जना एसियाली कामदारको मृत्यु भएको छ । मदिरा सेवनबाट अशक्त बनेका नेपालीसहित ठुलो संख्यामा आप्रवासी कामदारलाई अस्पताल भर्ना गरिएको छ ।
कुवेतस्थित दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले एक नेपालीको ज्यान गएको खबर प्राप्त भएको बताएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले विषाक्त मदिरा सेवनका कारण एसियाली मुलुकका ६३ जनालाई अस्पतालमा भर्ना गरिएको बताएको छ ।
मन्त्रालयले धेरै बिरामीहरू आइसियूमा रहेको र चिकित्सकहरूको टोलीले ३१ जनामा कार्डियोपल्मोनरी रिसुसिटेशन (सिपिआर) गरिरहेको बताएको छ । ५१ जनालाई आपतकालीन डायलिसिस गरिएको मन्त्रालयले जनाएको छ । २१ जनाले स्थायी वा अस्थायी रूपमा आँखाको दृष्टि गुमाएका छन् । अधिकारीहरूले दूषित पेय पदार्थको स्रोतको अनुसन्धान गर्न अस्पताल र सुरक्षा एजेन्सीबीच समन्वय भइरहेको बताएका छन् ।
नेपालीसहित दक्षिण एसियाली कामदारहरूले सस्तोमा पाइने मिथानोल, एन्टिफ्रिज र घोलक जस्ता औद्योगिक उत्पादनहरूमा प्रयोग हुने विषाक्त मदिरा सेवन गर्ने गरेकोे बताइएको छ ।
विषाक्त मदिराका कारण टाउको दुख्ने, बान्ता आउने, दृष्टि धमिलो हुने, हृदयाघात भई मृत्यु हुने गरेको छ । कुवेतले मादक पदार्थको उत्पादन, बिक्री र उपभोगलाई कडाइका साथ निषेध गरेको छ । सुरक्षाकर्मीरूले अवैध रूपमा मदिरा उत्पादन बन्द गराउने अभियान तीव्र पारेको कुवेती सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर ओभरस्टे भई अवैधानिक अवस्थामा लुकीछिपी बसेका नेपालीहरू जीविकोपार्जनका लागि पनि अवैध मदिरा कारोबारमा लाग्ने गरेको बताइएको छ ।