काठमाडौं : श्रम सचिव डा. कृष्णहरि पुष्करले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिजिटल युगलाई आत्मसात गर्दै डिजिटलक्रेसीको अवधारणामा नयाँ डिजिटल पद्धतिहरू थप्दै लगेको बताएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रम सचिव डा. पुष्करले समग्र श्रमको चक्रलाई डिजिटलाइजेसन गर्न ब्लुप्रिन्टको प्रयोग गरी प्रणाली निर्माणको कार्यले थप गति लिने उल्लेख गरे ।
कार्यक्रमको अध्यक्षता गरेका सचिव डा. पुष्करले स्वीस कन्ट्याक्टबाट श्रम संसार र रेमी परियोजनाबाट श्रम बजार सूचना प्रणालीको प्राविधिक दस्ताबेजहरूको कार्यान्वयनबाट ब्युरोक्रेसीलाई डिजिटलक्रेसीमा रूपान्तरण गर्न लागिएको जानकारी दिए । श्रमचक्रको समग्र प्रक्रियालाई डिजिटलाइजेसन ब्लुप्रिन्टले ध्यान दिएको उल्लेख गर्दै सचिव डा. पुष्करले प्राथमिकताका साथ कार्यान्वयन गरिने प्रतिबद्धतासमेत जनाए ।
श्रममन्त्री शरतसिंह भण्डारीले नवौं पञ्चवर्षिय योजनादेखि सोचिएको डिजिटलाइजेसन र श्रम बजार सूचना प्रणालीले साकार रूप लिँदै गरेकोमा सन्तुष्टि व्यक्त गरेको उनले बताए । उक्त कार्यमा विकास साझेदार एसडिसी, स्वीस कन्ट्याक्ट र रेमी परियोजनाको योगदानको प्रशंसा गर्दै नागरिकलाई सेवा प्रवाह गर्न ‘मान्छे दौडिने नभई प्रणाली दौडिनुपर्ने’ पद्धतिको विकास हुन लागेको उनले बताए । उनले सीमित स्रोत र साधन हुँदा हुँदै पनि श्रम संसारको प्रयोगलाई व्यापकता दिइएको र अब उप्राप्त समग्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा प्रणाली प्रविधिमय हुने जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ असगर अलीले लामो गृहकार्यपछि तयार भएको दस्ताबेज समग्र श्रम क्षेत्रको समस्या समाधानको आधार बन्ने विश्वास व्यक्त गरे । उनका अनुसार पछिल्लो एक वर्षमा श्रम क्षेत्रको डिजिटलाइजेसनमा भएको प्रगति उल्लेखनीय छ ।