२०८२ साउन २९ गते बिहिवार / Aug 14 , 2025 , Thursday
२०८२ साउन २९ गते बिहिवार
Ads

सय संख्याको अवरोध हटाउँदै म्यानपावर नवीकरण गर्न विभागलाई निर्देशन

shivam cement
मध्यान्ह
२०८२ साउन २७ गते ०६:१५
सय संख्याको अवरोध हटाउँदै म्यानपावर नवीकरण गर्न विभागलाई निर्देशन

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्ष सय जना कामदार पठाउन नपाएका म्यानपावर कम्पनीको इजाजत नवीकरणका लागि वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।

वैदेशिक रोजगार व्यवसायीको इजाजत नवीकरणका लागि बाधकका रूपमा रहेको संख्या सय खारेज गर्ने केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भई नेपाल राजपत्रमा प्रकाशित भएपछि पनि विभागले साउन १५ गते इजाजत नवीकरणमा समस्या देखाउँदै नीतिगत निकासाका लागि मन्त्रालयसँग राय माग गरेको थियो ।

श्रममन्त्री शरतसिंह भण्डारीले सोही दिन महान्यायाधिवक्ता कार्यालयसँग त्यसको राय माग गरेका थिए । महान्यायाधिवक्ता कार्यालयले साउन २३ गते शुक्रबार सय संख्या नपुग्ने म्यानपावर कम्पनीको इजाजत नवीकरणमा कानुनी बाधा नरहेको राय श्रम मन्त्रालयलाई पठाएको थियो । सोहीअनुसार पुनः सोमबार मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रालयले म्यानपावर कम्पनीको इजाजत नवीकरण प्रक्रिया प्रारम्भ गर्न विभागलाई महान्यायाधिवक्ता कार्यालयको रायको प्रतिलिपिसमेत राखेर पत्र पठाएको छ ।

महान्यायाधिवक्ता कार्यालयको रायमा भनिएको छ, ‘इजाजतपत्र नवीकरण प्रक्रिया कार्यविधिगत व्यवस्था रहेको र कार्यविधि कानुन पश्चात्दर्शी रूपमा लागू हुने कानुनी सिद्धान्त तथा अभ्यास रहेकाले २ वर्षसम्म सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसकी दफा ८२ बमोजिम बाधा अड्काउ फुकाई इजाजतपत्र नवीकरण गरी पाउन २०८२ असार मसान्तसम्म निवेदन दिएका इजाजतपत्र रद्द भइनसकी विचाराधीन रहेका निवेदक इजाजतपत्रवालाहरूको इजाजतपत्र नवीकरणका हकमा मिति २०८२/०४/१४ देखि वैदेशिक रोजगार ऐन, २०६४ को दफा १३ को उपदफा २ को खण्ड (घ२) को पुरानो कानुनी व्यवस्थाको अयोग्यता निष्क्रिय भएकाले त्यसरी वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्रवालाहरूको नवीकरण गर्नका लागि कुनै कानुनी बाधा नरहेको ।’

केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमार्फत वैदेशिक रोजगार ऐन २०६४ मा रहेको संख्या सयसम्बन्धी दफा १३ को उपदफा (२) को खण्ड (घ२) झिकिएको छ । 

विभागका निर्देशक टिकाराम ढकालले मन्त्रालयले पठाएको रायसहितको पत्र सोमबार कार्यालय समयभित्र विभागमा आइनपुगेको भन्दै मन्त्रालयको पत्र प्राप्त हुनासाथ तोकिएका प्रक्रिया पूरा गरेर निवेदन दिएका म्यानपावर कम्पनीको नवीकरण सुरु गरिने मध्यान्ह दैनिकलाई जानकारी दिए । गत आर्थिक वर्ष असार मसान्तसम्ममा सय जना कामदार पठाउन नसकेका ३ सय २६ म्यानपावर कम्पनीको कारोबार विभागको प्रणालीमा रोक्का रहेकोे छ । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनलगायत वैदेशिक रोजगार क्षेत्रमा रहेका संघसंस्थाले वैदेशिक रोजगार ऐनमा भएको संशोधनअनुसार म्यानपावर कम्पनीको इजाजत नवीकरणमा सहजता प्रदान गरेको भन्दै श्रममन्त्री भण्डारीसहित समस्या समाधानका लागि पहल गर्ने सबै सरोकारवालाप्रति आभार व्यक्त गरेका छन् ।

संघले व्यवसायीको इजाजत नवीकरण समस्या समाधानका लागि तृतीय उपाध्यक्ष वैकुण्ठ प्रसाद पौडेललाई संयोजनको जिम्मेवारी दिएको थियो । तृतीय उपाध्यक्ष पौडेलले मन्त्री भण्डारीसहित सबै पक्षले तदारुकताका साथ पहल गरेका कारण छोटो समयमा व्यवसायीको इजाजत नवीकरणको अवस्था बनेको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise