काठमाडौंः दक्षिण कोरियाका पूर्व न्यायमन्त्रीलाई बाँकी जेल सजाँय मिनाह गर्ने तयारी भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
पूर्व न्यायमन्त्री चो कुकलाई आफ्ना छोराछोरीको कलेज भर्नासम्बन्धी शैक्षिक ठगी गरेको अभियोगमा सजायको आधाभन्दा कम समय मा नै यसै साता माफी दिइने भएको हो ।
शैक्षिक ठगी गरेको अभियोग लाग्नुपूर्व चो कुकलाई सन् २०१९ मा राष्ट्रपतिपदका लागि उम्मेदवारी दिने अनुमान गरिएको थियो । चो र उनकी पत्नी चुङ क्युङ–सिम दुवैलाई उक्त अभियोगमा दोषी ठहराइयो र क्रमशः दुई र चार वर्षको जेल सजाय सुनाइयो।
सन् २०२३ मा अधिकांश सजाय भुक्तान गरेपछि चुङलाई पेरोलमा रिहा गरिएको थियो । आठ महिनाको जेल जीवनपछि चोलाई शुक्रबार रिहा गर्ने तयारी भइरहेको छ । न्यायमन्त्री जुङ सुङ–होले स्वतन्त्रता दिवसको अवसरमा क्षमादानको घोषणा गर्दै सोमबार पत्रकार सम्मेलनमा भने, ‘राज्यमा उनीहरूको योगदान र अपराधको गम्भीरतालाई ध्यानमा राख्दै हामीले २७ जना प्रमुख सरकारी अधिकारी र राजनीतिज्ञलाई क्षमादानको सूचीमा समावेश गरेका छौं।’
पूर्व राष्ट्रपति मून जे–इनका सहयोगी तथा कानुनविद् चोलाई सन् २०१९ मा न्याय मन्त्रालयको नेतृत्व गर्न नियुक्त गरिएको थियो । त्यसको केही समयपछि उनको परिवार शैक्षिक भर्ना घोटालामा फसेको थियो । उनीहरूलाई सन्तानका लागि कलेजमा भर्ना हुन नक्कली कागजातहरूको प्रयोग गरेको अभियोगमा दोषी ठहर गरिएको थियो ।
उनलाई अमेरिकी विश्वविद्यालयमा आफ्नो छोरालाई पठाउन दिइएको अनलाइन परीक्षामा नक्कली कागजात प्रयोग गरेको अभियोगमा पनि दोषी ठहर गरिएको थियो।