२०८२ साउन २५ गते आइतवार / Aug 10 , 2025 , Sunday
२०८२ साउन २५ गते आइतवार
Ads

फोनिज रामेछापले मनायो २६औं स्थापना दिवस, दुई पत्रकार सम्मानित

shivam cement
मध्यान्ह
२०८२ साउन २४ गते २१:४८
फोनिज रामेछापले मनायो २६औं स्थापना दिवस, दुई पत्रकार सम्मानित

रामेछाप : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ्नो २६औं स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । शनिबार मन्थलीमा आयोजित कार्यक्रममा संस्थाले जिल्लाका दुई पत्रकारलाई नगदसहित सम्मान गरेको छ ।

आदिवासी जनजातिको क्षेत्रमा खोजमूलक समाचार लेखनमा सक्रिय योगदान पुर्‍याएको भन्दै नेपाल पत्रकार महासंघ रामेछापका निर्वतमान अध्यक्ष बद्रि नयाँघरेलाई ‘खोज पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । सो पुरस्कार अन्तर्गत नगद रकमसहित सम्मान पत्र प्रदान गरिएको थियो । यस्तै, नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष ज्ञानु श्रेष्ठलाई ‘नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार’बाट सम्मानित गरिएको छ । फोनिज रामेछापले ‘नेपाल आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार’ विगत सात वर्षदेखि र ‘खोज पत्रकारिता पुरस्कार’ चार वर्षदेखि निरन्तर वितरण गर्दै आएको छ ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ‘पर्यटन प्रवर्धनमा पत्रकारको भूमिका’विषयक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।  कार्यक्रममा फोनिज रामेछापका निर्वतमान अध्यक्ष नवराज श्रेष्ठले संस्थागत कार्यपत्र प्रस्तुत गरेका थिए भने सचिव सुमित्रा थोकरले पर्यटन प्रवर्धनमा पत्रकारको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । 

प्रस्तुत कार्यपत्रमाथि सहभागी पत्रकारहरूले आफ्ना धारणा राख्दै पर्यटन विकासका लागि प्रभावकारी पत्रकारिता आवश्यक रहेकोमा जोड दिएका थिए ।

कार्यक्रमको अध्यक्षता फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठले गरेका थिए । सो अवसरमा मन्थली नगरपालिकाका नगरप्रमुख लब श्रेष्ठले मन्थली नगरपालिकाले पर्यटन विकासका लागि विभिन्न योजना बनाई कार्यान्वयन गरिरहेको जानकारी दिए । उनले स्थानीय सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व बोकेका स्थलहरूको प्रचार–प्रसारमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउँदै सहकार्यको अपेक्षा व्यक्त गरे ।

त्यस्तै, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिक, पूर्वअध्यक्षहरू हिमाल ढुगेल र बद्रि नयाँघरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै फोनिज रामेछापको पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए । 

स्थापना दिवसका अवसरमा सम्मानित दुवै पत्रकारले आफूले पाएको सम्मानलाई जिम्मेवारीको रूपमा लिँदै आगामी दिनमा अझ जिम्मेवार र सत्यनिष्ठ पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise