२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

जुम्लाका टक्क नेपालीले घरको छतमै बनाए जहाज

Nada
दिलमाया शाही
२०८२ साउन २४ गते २१:४६
Shares
जुम्लाका टक्क नेपालीले घरको छतमै बनाए जहाज

जुम्ला : जुम्लाको विकटबस्ती तातोपानी गाउँपालिका–५ ऐरेनीमा बसोबास गर्ने टक्क नेपालीले असाधारण सिर्जना प्रस्तुत गरेका छन् । कुनै प्रविधिक शिक्षा नलिएका, नत औपचारिक तालिमनै लिएका टक्क नेपालीले आफ्नै प्रयासमा नेपाल एयरलाइन्सको झल्को दिने जहाज घरको छतमै निर्माण गरेका छन् । अहिले यो जहाज अवलोकन गर्न र तस्वीर खिच्न स्थानीयदेखि बाहिरी पर्यटकसम्म भेला हुन थालेका छन् । 

ncell

टक्क नेपालीले आफ्नो घरको छतमा सिमेन्ट, फलाम, सरिया, पालिस र रंगजस्ता सामग्री प्रयोग गरेर १८ फिट लामो र ३ फिट गोलाई भएको जहाज निर्माण गरेका छन् । उनले यो जहाज बनाउँदा झण्डै अढाई महिना लगाएका छन् । हालसम्म करिब १ लाख रुपैयाँ खर्च भइसकेको छ । निर्माण कार्यमा उनका भतिज धनबहादुर नेपालीले सक्रिय साथ दिएका छन् ।

स्थानीयबाट ‘वैज्ञानिक’को उपनाम

स्थानीयस्तरमा ‘वैज्ञानिक’उपनामले चिनिने टक्क नेपाली विद्युतीय सामग्रीको पसल सञ्चालन गर्दै आएका छन् । उनले यसअघि यूट्युब हेरेर प्याराग्लाइडिङ पनि बनाएर सफल परीक्षण गरेका थिए । अब उनी साँच्चिकै उड्ने जहाज बनाउने योजनामा छन् । ‘प्याराग्लाइडिङ बनाएर उडेको छु, अब उड्ने जहाज बनाउने सोचमा छु,’टक्कले भने ।

पर्यटन प्रवर्धनमा योगदानको सम्भावना

टक्कको सिर्जनाले जुम्लाको पर्यटन विकासमा नयाँ सम्भावना थपेको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले भने, ‘उनको सीप देखेर म छक्क परेँ । यदि उपयुक्त ठाउँमा ठूलो जहाज बनाउने सुविधा दिइयो भने यसले जुम्लाको पर्यटनमा टेवा पुर्‍याउँछ ।’

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले पनि टक्क नेपालीको प्रयासको प्रशंसा गर्दै आवश्यकता परे सहयोग गर्न तयार रहेको बताएका छन् । 

स्थानीय  भन्छन्,‘स्थानीय सरकारले टक्कको यो सीपलाई कदर गर्नुपर्छ । उनको कला र प्रयासले विज्ञान प्रवद्र्धनमा ठूलो सहयोग पुर्‍याउन सक्छ ।’ सबैले टक्कको सिर्जनामा गर्व गर्दै छतमा रहेको जहाज देखेर अभिभूत भएका छन्।

भविष्यका योजना जहाज म्युजियम

टक्क नेपालीको लक्ष्य केवल यही जहाजमा सीमित छैन । उनी भविष्यमा ठूलो जहाज बनाउने, त्यसलाई रमणीय स्थानमा राखेर ‘जहाज म्युजियम’ बनाउने योजना बुनेका छन् । त्यहाँ पर्यटकले जहाज चढ्ने, खाना खाने, अवलोकन गर्ने व्यवस्था रहनेछ र प्रवेशका लागि टिकट प्रणाली समेत लागू गरिनेछ ।

ताजा खबर

सम्बन्धित खबर