२०८२ साउन २२ गते बिहिवार / Aug 07 , 2025 , Thursday
२०८२ साउन २२ गते बिहिवार
Ads

आरोहण म्यानपावरका नक्कली सञ्चालक पक्राउ

shivam cement
कृष्ण तिवारी
२०८२ साउन २२ गते ०६:३०
आरोहण म्यानपावरका नक्कली सञ्चालक पक्राउ

रौतहट : वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै नक्कली परिचय बनाएर ठगी गर्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको फतुवा विजयपुर नगरपालिका–२ शितलपुरका रुपेश मुखिया उर्फ बैजुनाथ मुखिया रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय मौलापुरको टोलीले मौलापुर बजारबाट पक्राउ गरेको हो ।

मुखियाले आफूलाई आरोहण ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक पृथ्वी यादव भएको भनी झुटो परिचय दिँदै विभिन्न व्यक्तिसँग वैदेशिक रोजगारीका नाममा ठगी गर्दै आएका थिए । प्रहरीले दिएको जानकारीअनुसार उनले मौलापुर नगरपालिका–६ का वास्तविक सञ्चालक पृथ्वी यादवको नागरिकतामा आफ्नै फोटो राखी परिचयपत्र बनाएका थिए ।

उनले कुवेत, साउदी अरब, कतार, दुवईलगायतका मुलुकहरूमा रोजगारीमा पठाइदिने भन्दै वैदेशिक रोजगार विभागबाट अनुमति नलिइकन राहदानी र नगद रकम असुली गर्ने गरेका थिए ।

स्थानीय बासिन्दा ब्राह्मनारायण यादवका अनुसार मुखियाले आफू काठमाडौंस्थित म्यानपावर कम्पनीका सञ्चालक भएको भन्दै अनेक व्यक्तिलाई झुक्याएका थिए ।

जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले मुखियामाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

सुरक्षा स्रोतहरूका अनुसार, वैदेशिक रोजगारीमा हुने ठगी प्रकरणमा नक्कली एजेन्टहरूको संलग्नता बढ्दो छ । प्रशासनको कमजोरी र कमजोर अनुगमनका कारण बिर्तामोड, इटहरी, लहान, चितवनलगायतका सहरहरूमा नक्कली शाखा खोल्ने प्रवृत्ति मौलाएको बताइएको छ । यस्ता स्थानबाट राहदानी र नगद संकलन गर्दै ठगी गर्ने गिरोहहरू सक्रिय रहेको प्रहरीको भनाइ छ ।

ADV

सम्बन्धित खबर

Advertise