२०८२ साउन २१ गते बुधवार / Aug 06 , 2025 , Wednesday
२०८२ साउन २१ गते बुधवार
Ads

नैतिकताको खडेरी

shivam cement
२०८२ साउन २१ गते ०६:१०
नैतिकताको खडेरी

जनप्रतिनिधि पदलाई सम्माननार्थ ‘माननीय’, ‘सम्माननीय’जस्ता शब्द प्रयोग गरिन्छ । माननीय र सम्माननीयसँग उच्च नैतिक चरित्रको अपेक्षा गरिन्छ । जसको व्यवहार नागरिकले नक्कल गर्न गरून् । तर कतिपय जनप्रतिनिधिहरू नागरिकका अपेक्षाविपरीत प्रस्तुत भइरहेका हुन्छन् । यस्तैमा अर्को एउटा घटना थपिएको छ– कुलिङ पिरियड प्रकरण । जुन घटनाले केही राजनीतिक नेता र उच्च पदस्थ कर्मचारीमाथि प्रश्न उठाएको छ । जवाफ दिनुको सट्टा उनीहरू कानुनी रूपमा पदबाट हट्न नपर्ने हठ गरिरहेका छन् । यो नैतिकताको खडेरीको ज्वलन्त उदाहरण हो । 

कुलिङ अफ पिरियड भनेको सरकारी कर्मचारीका लागि राजीनामा दिएपछि वा अवकाश पाएपछि निश्चित समय सरकारी, गैरसरकारी, संवैधानिक वा कूटनीतिक नियुक्ति लिन नपाउने प्रावधान हो । यो प्रावधान राख्नेगरी संसदीय समितिले सहमति जुटाएको थियो । संसदीय छानबिन समितिको निष्कर्षअनुसार कुलिङ अफ पिरियड निष्क्रिय हुने भाषा विधेयकमै राख्न राजनीतिक नेता र उच्च पदस्थ कर्मचारी लागे । ती को हुन् भनेर संसदीय समितिले किटान नै गरिदिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायतलाई जिम्मेवार ठहर्‍याएको छ । नैतिक समाजमा यसभन्दा ठुलो कारबाही के हुन सक्छ ? तर उनीहरू पद छाड्नुनपर्ने जवाफ दिइरहेका छन् । समाजकै अगुवाको यस्ता व्यवहारले माननीय, सम्माननीयजस्ता सम्माननार्थी शब्दको अवमूल्यन मात्रै गरेको छैन, जनप्रतिनिधिप्रतिको विश्वाससमेत घटाइरहेको छ ।

एकातिर घुस डिल गरेको आरोप लागेका मन्त्रीहरू पदमा बहाल छन् । अर्कोतिर नेपाल सरकारका मुख्यसचिव नै सार्वभौम संसदको निर्णय नमान्ने हुंकार गरिरहेका छन् । यसमा न राजनीतिक नेतृत्व गम्भीर छ न स्वयं नैतिकताको कसीमा बाँधिनेहरू जिम्मेवार छन् । उल्टै गम्भीर आरोपबाट समेत उन्मुक्ति खोजिरहेका हुन्छन् । नागरिकको प्रश्न र चेतनामाथि प्रतिप्रश्न गरिरहेका हुन्छन् । जनताप्रति जनप्रतिनिधि जिम्मेवार र जवाफदेही हुन नपर्ने यस्तो गलत प्रवृति बढ्दै गए समाजले सही गति लिन सक्दैन । यसकारण जनप्रतिनिधिहरूले सकारात्मक सन्देश दिन पनि आदर्श व्यक्तिको मानक भत्काउनु हुँदैन । नागरिकले जनप्रतिनिधिबाट  सुशासन र पारदर्शिताको माग गरेका छन् । जनप्रनिधिहरूले विकासको कुरा गरून्, कसैमाथि दुव्र्यवहार र अपाच्य व्यवहार नगरून् भन्ने छ । यस्तो नागरिक अपेक्षामा कुठाराघात भए तत्काल कानुनलाई छले तापनि जहिलेसुकै खतरामा परिन्छ भन्ने जोसुकैले ख्याल गर्न आवश्यक छ । 

ADV

सम्बन्धित खबर

Advertise