२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

सचेतनाकै खाँचो

shivam cement
२०८२ साउन १८ गते ०६:१०
सचेतनाकै खाँचो

सर्पदंशको उपचारका निम्ति सरकारले निःशुल्क मलम उपलब्ध गराउँछ । ‘एन्टी स्नेक भेनम सेरम’ मलम सर्पदंश केन्द्रबाट निःशुल्क वितरण गर्दै आएता पनि सर्पले टोकेर बिरामी हुनेको संख्या न्यून हुन सकेको छैन । विश्व स्वास्थ्य संगठनको विवरणअनुसार नेपालमा वार्षिक करिब एक सय जनाको सर्पदंशका कारण मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष ९ हजार १ सय २० जना सर्पले टोकेर बिरामी भएका थिए । यति ठुलो संख्यामा नेपालीहरू सर्पदंशबाट प्रभावित हुनुको कारण खोज्दा मानवीय व्यवहार नै जिम्मेवार रहेको पाइन्छ । 

चिकित्सकहरूका अनुसार गर्मी बढेसँगै सर्प जमिन बाहिर निस्कन्छन्, यो प्राकृतिक विषय हो । सर्पबाट छल्दै मानिसले जीवन जिउने हो । यसका निम्ति धेरै केही गर्नुपर्दैन । घर वरिपरि नियमित सरसफाइ गर्ने हो ।  सर्पलाई नचलाउने गर्दा मात्रै पनि बच्न सकिन्छ । सरकारी अधिकारीहरूका अनुसार सामान्यतयाः हिँड्दै गर्दा, घाँस काट्न जाँदा, खेतबारीमा काम गर्दा सर्पले टोक्ने गरेको पाइन्छ । जंगल, झाडीमा जाँदा सर्प छ कि छैन भन्ने ख्याल नगर्दा पनि समस्या हुने गरेको छ । घाँस काट्न जाँदा होस् वा खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउनेलगायतका सावधानीका उपाय नअपनाउँदा सर्पले टोक्ने गरेको छ । यो भनेको सचेतनाको खाँचो हो । 

सचेतनाका निम्ति व्यक्ति स्वयं सतर्क हुनु पहिलो सर्त हो । सरकारले पनि यसका निम्ति लगानी गर्न आवश्यक छ । सर्पदंशको उपचारका निम्ति ‘एन्टी स्नेक भेनम सेरम’ मलम निःशुल्क दिने जस्ता सहुलियतलाई निरन्तरता दिँदै सचेतनाका उपाय अपाउन भूमिका खेल्नुपर्छ । चिकित्सकका अनुसार सर्पले टोक्नासाथ दौडिने, भाग्ने गर्दा शरीरभरि विष फैलिने गर्छ । सर्पले टोक्नासाथ त्यहीँ बसेर सहयोग माग्न सकिन्छ, टोकेको ठाउँ नचलाउने, शरीरमा कस्सिएका घडी, चुरा, औँठी, पाउजु, पेटी खोल्ने, टोकेको दुई तीन इन्चमाथि कपडाले हल्का बाँध्दा विष शरीरभर फैलिनबाट रोक्न सकिन्छ । यो विषय सरकारले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट समेत जानकारी गराउन सक्दछ । घरेलु उपचारको नाममा सर्पले टोकेको ठाउँमा चुसेर रगत निकाल्ने, गोबर लगाउने, ढुंगाले घोट्ने, धामी झाँक्रीकोमा जाने गर्दा समेत बिरामीलाई असर पर्ने गरेको छ । यी कार्य नजानेर हुने हुन् । जानकारी दिने जिम्मेवारी सरकारको हो ।

ADV

सम्बन्धित खबर

Advertise