काठमाडौं : वैदेशिक रोजगार क्षेत्रको अग्रणी संस्था नीलकमल ह्युमन रिसोर्स प्रा.लि.ले विभिन्न कार्यक्रम गरेर आफ्नो १७औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार बिहान केक काटेर १७औं वार्षिकोत्सवका कार्यक्रम सुरुवात गरेको उक्त प्रा.लि.ले सन्यास आश्रममा रक्तदान तथा वृक्षारोपण कार्यक्रम गरेको छ ।
यस्तै प्रा.लि.ले वैदेशिक रोजगारका क्रममा कुवेतमा घाइते भएका झापाका रन्जन उप्रेतीलाई करिब दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । दुर्घटनामा एउटा खुट्टा गुमाएका उप्रेतीलाई कम्पनीले १ लाख ५१ हजार र कम्पनीका कर्मचारीले आफ्नो तलवबाट कटाएर ४७ हजार २१ रुपैयाँ प्रदान गरे । साथै कम्पनीले नि: सहाय सेवा सदनलाई र्याकहरू प्रदान गरेको छ ।
सन् २००८ मा युवा र व्यावसायिक टोलीबाट स्थापना भएको नीलकमल ह्युमन रिसोर्स प्रा.लि. विगत केही वर्षयता सबैभन्दा धेरै कामदार पठाएर धेरै कामदार पठाउने कम्पनीहरूको सूचीको शीर्ष स्थानमा रहँदै आएको छ । आर्थिक वर्ष २०८१/०८२ मा उक्त कम्पनीले ८ हजार ६ सय ७३ जना कामदार वैदेशिक रोजगारीमा पठाएको थियोे ।
कम्पनीको अध्यक्षमा मेघनाथ भुर्तेलसहित सञ्चालकहरूमा जीवनाथ भुर्तेल (बलराम), चुडामणि पौडेल (सागर), फाल्गुणि प्रसाद भुर्तेल (जयराम) र अजय थापा रहेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान महासचिवसमेत रहेका कम्पनीका अध्यक्ष मेघनाथ भुर्तेलले आकर्षक सेवा, सुविधा तथा तलबको रोजगारीमा नेपाली कामदारहरूलाई खाडीका विभिन्न मुलुकमा पठाउन कम्पनी सफल भएको बताए ।
काठमाडौंमा प्रधान कार्यालय रहेको उक्त कम्पनीका शाखा झापाको बिर्तामोड, महोत्तरीको बर्दिबास, चितवन, कास्कीको पोखरा र बाँकेको नेपालगञ्जमा रहेका छन् । सबै कार्यालयमा गरेर २ सय ७० जनाभन्दा बढीले रोजगारी पाइरहेका छन् ।
प्रधान कार्यालय र शाखा कार्यालयमा कार्यरत अनुभवी, दक्ष र उत्साहित कर्मचारीमार्फत रोजगारदाताहरूको मागअनुसार कामदार आपूर्ति गरिरहेको कम्पनीले बताएको छ । अध्यक्ष भुर्तेलले यस वर्षदेखि कम्पनीबाट वैदेशिक रोजगारमा गई ज्यान गुमाएका कामदारको सन्तानलाई १२ कक्षासम्म शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गरेको भन्दै कम्पनीले सामाजिक सेवाका विभिन्न क्षेत्रमा काम गर्ने नीति लिएको बताए ।
वार्षिकोत्सवका क्रममा बागमती प्रदेश सभाका सांसद श्रीराम लामिछानेले नीलकमलले मुलुकको वैदेशिक रोजगार क्षेत्रमा विश्वासिलो र भरपर्दाे सेवा प्रदान गरेर अनुकरणीय काम गरेको भन्दै भविष्यमा पनि सरल र सहज रूपमा बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगार उपलब्ध गराउन आग्रह गरे ।
वार्षिकोत्सवका अवसरमा अध्यक्ष भुर्तेलले लागत परिभाषित गरेर सेवा शुल्क निर्धारण, नेपाली कूटनैतिक नियोगमा रहेको मागपत्र प्रमाणीकरणको झन्झटिलो अवस्थाको अन्त्य, वैदेशिक रोजगार ऐनमा रहेका विभेदकारी र झन्झटिलो प्रक्रियामा संशोधन तथा प्रतिबन्धित अवस्थामा राखिएको घरेलु कामदारको श्रम स्वीकृति अन्त्य हुनुपर्नेमा जोड दिए ।
आफू संघको महासचिवको जिम्मेवारीमा रहँदा जोडदार रूपमा उठाएका वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि सरकारले सकारात्मक दृष्टिकोण लिनुपर्ने र व्यवसायीहरूको छाता संस्था संघले निरन्तर खबरदारी र पहलकदमी लिनुपर्ने सुझाव दिए ।