२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पाकिस्तानका विपक्षी नेतालाई १० वर्षको जेल सजाय

Nada
२०८२ साउन १६ गते १५:४१
Shares
पाकिस्तानका विपक्षी नेतालाई १० वर्षको जेल सजाय

काठमाडौंः सन् २०२३ मा इमरान खानको समर्थनमा देशव्यापी प्रदर्शन गरेको आरोपमा पाकिस्तानको संसद्मा विपक्षी दलका नेतासहित १०० जनाभन्दा बढीलाई बिहीबार दोषी ठहर गरिएको पूर्व प्रधानमन्त्री खानको पार्टीले जनाएको छ ।

ncell

इमरान खानको रिहाइका लागि दबावमुलक विरोधप्रदर्शनको नेतृत्व गरेका आरोपमा उनीहरूलाई दोषी ठहर गरिएको हो । खानको पाकिस्तान तेहरीक–ए–इन्साफ पार्टी (पिटिआई) ले जारी गरेको विज्ञप्तिमा छ जना सांसद, एक सिनेटर र एक प्रान्तीय सांसदलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।

तीमध्ये प्रदर्शनमा सहभागी नै नभएका राष्ट्रिय सभाका विपक्षी नेता ओमार अयुब खान पनि रहेका छन् ।  उनलाई पूर्वी शहर फैसलाबादको आतङ्कवादविरोधी अदालतले हिंसा भड्काउन उक्साएको र दङ्गा भड्काउने र आगजनी गर्ने षडयन्त्र गरेको अभियोगमा दोषी ठहर गरेको थियो । पिटिआईका अध्यक्ष गोहर अली खानले भने, ‘हामी फैसलालाई चुनौति दिँदै यसलाई माथिल्लो अदालतमा अपिल गर्न गइरहेका छौँ। यस्ता फैसला लोकतन्त्र र मुलुकका लागि राम्रो होइन ।

पार्टी पदाधिकारीहरू मुद्दाको सुनुवाइका क्रममा जमानतमा छन् र उनीहरूलाई अझै जेल लगिएको छैन। गत बर्षको मे ९ मा खानलाई राजधानी इस्लामावादबाट गिरफ्तार गरिएपछि संवेदनशील सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो। सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहेका खानलाई उनकै शब्दमा ‘राजनीतिबाट प्रेरित’ प्रतिशोधका आधारमा करिब दुई वर्षदेखि जेलमा राखिएको छ ।

उनका समर्थक र पार्टीका वरिष्ठ नेताहरूले पनि कडा दमनको सामना गर्नुपरेको छ । हजारौँलाई पक्राउ गरिएको छ र खानको नाम टेलिभिजनबाट ‘सेन्सर’ गरिएको छ। लण्डनमा रहेका पिटिआईका प्रवक्ता सैयद जुल्फिकार बुखारीले पछिल्लो सजायको फैसला ‘प्रजातन्त्रको लागि लागि कालो दिन’ भएको बताएका छन् । उनले भने, ‘विपक्षी नेताहरूलाई एकपछि अर्को गर्दै दोषी ठहर्‍याउनु कुनै पनि लोकतान्त्रिक प्रणालीका लागि शुभ सङ्केत होइन र यसले हाम्रो पहिलेदेखि नै कमजोर लोकतन्त्रलाई गम्भीर क्षति पुर्‍याउनेछ ।’ एजेन्सी

ताजा खबर

सम्बन्धित खबर