काठमाडौं : वैदेशिक रोजगार बोर्डले विदेशमा गएर गर्नुपर्ने कामसम्बन्धी सामान्य सीपसमेत नसिकी जाने प्रवृत्तिका कारण धेरै नेपालीहरू कार्यस्थलमा दुर्घटनामा पर्ने गरेको बताएको छ । बिहीबार आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले श्रम स्वीकृति लिन अनिवार्य तालिम लिएको हुनुपर्ने कानुनी प्रावधान कडाइका साथ पालना हुनुपर्नेमा जोड दिएको छ ।
८ लाख ३९ हजार बढीको श्रम स्वीकृति भएको गत आर्थिक वर्ष १ हजार १ सय ८० नेपालीको शव ल्याउनुपरेको थियो । बोर्डले १ हजार २ सय ५० जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरेको बताएको छ ।
बोर्डले विदेशमा जेल परेका अधिकांश नेपाली कामदारहरू लागूऔषध वा मदिरा सेवनजस्ता गतिविधिमा संलग्न भएको र उनीहरू आफैं कानुनी प्रक्रियामा जान नचाहने भएकाले बजेट भएर पनि उनीहरूका हितमा खर्च हुन नसकेको बताएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले नेपालमा सिकेको भन्दा फरक काम गर्नुपर्ने जस्ता बाध्यता, पर्याप्त सुरक्षा र सचेतनाको अभावमा पनि नेपाली कामदारहरूले अकालमा ज्यान गुमाउनुपरेको बताए ।
बोर्डले उद्धार र राहतका कार्यक्रमका अतिरिक्त चालु आर्थिक वर्षदेखि विदेशबाट फर्किएर आएका युवायुवतीलाई नेपालमै उद्यम गर्न प्रोत्साहन गर्ने कार्यक्रम तर्जुमा गरेको बताएको छ । ‘वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा उद्यम गर्ने उद्यमीलाई सम्मान गर्ने रिटर्नी उद्यमी आइडल कार्यक्रम सञ्चालन गर्न लागेका छौं,’ पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक डा. उप्रेतीले भने ।
बोर्डले गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जान चाहने १४ हजार ४ सय ५८ युवायुवतीलाई सीपमूलक तालिम दिएको, श्रमाधान कल सेन्टर, टेलिमेडिसिन सेवा र विभिन्न सचेतनामूलक कार्यक्रमहरूमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकको हितलाई उच्च प्राथमिकतामा राखेर काम गरेको दाबी गरेको छ ।
गत वर्ष विदेशमा अंगभंग भएका तथा बिरामी परेका ६ सय ९८ जना कामदारलाई आर्थिक सहायता प्रदान गरेको, २ सय ७५ जना कामदारका परिवारलाई स्वास्थ्योपचारका लागि सहयोग गरेको, ३ हजार ९ सय ९० जनालाई वैदेशिक रोजगार सन्तति छात्रवृत्ति सहायता प्रदान गरी विभिन्न देशमा अलपत्र परेका ७० जना नेपालीको शव नेपाल झिकाइएको बोर्डले जानकारी दिएको छ ।
साउदी अरबको कानुनी प्रक्रिया जटिल भएकाले शव ल्याउन ढिलाइ हुने गरेको बोर्डको भनाइ छ । संघीय र प्रदेश सांसदहरूका लागि वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने बताउँदै बोर्डले वैदेशिक रोजगारका विषयमा कलम चलाउने पत्रकारहरूलाई पुरस्कृत गर्ने योजना बनाएको बताएको छ ।
बोर्डका निर्देशक गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षाका लागि सबै सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्यलाई बलियो बनाउँदै लगेको जानकारी दिए ।