२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

दलको मूल्यांकन होस्

Nada
२०८२ साउन १६ गते ०६:१०
Shares
दलको मूल्यांकन होस्

नेपालका राजनीतिक दलहरूमाथि निरन्तर उठिरहेको एउटा प्रश्न हो– आर्थिक पारदर्शिता । पार्टी सञ्चालनको खर्च कहाँबाट प्राप्त हुन्छ भन्दा सबै दलले दिने जवाफ उही छ– चन्दा । चन्दा के कति लिन÷दिन पाउने हो ? राजनीतिक दलले कस्तो व्यक्तिबाट चन्दा लिन पाउने र कस्तो व्यक्तिबाट लिन नपाउने हो ? यी प्रश्नका सम्बन्धमा प्रस्ट कानुनी व्यवस्था छैन । यसकारण राजनीतिक दल र नेताहरूले निरन्तर आर्थिक पारदर्शिताको प्रश्न सामना गर्दै आएका हुन् । यहीबेला निर्वाचन आयोगले राजनीतिक दल सञ्चालन गर्न राज्यले नै पैसा दिने कानुनी व्यवस्थाको प्रस्ताव गरेको छ । यस्तो प्रावधान प्रस्तावित भएको राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयकको मस्यौदा गृह मन्त्रालय पुगेको छ । 

ncell

गृह मन्त्रालयले राजनीतिक दललाई पैसा दिनेगरी तयार विधेयक अगाडि बढाउँदै गर्दा निर्वाचन आयोगले राज्यबाट सुविधा पाउन राजनीतिक दलले के कस्ता सर्त पूरा गर्नुपर्छ भनेर ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ बनाएको छ । जसअन्तर्गत राजनीतिक दलको व्यवहार हेरेर नम्बर दिन मूल्यांकन समिति रहनेछ । निर्वाचन आयोगका सचिवको संयोजकत्वमा रहने समितिले राजनीतिक दलले स्वमूल्यांकन गरे÷नगरेको सम्बन्धमा छानबिन गर्नेछ । दलले प्राप्त गरेको अंकका आधारमा मूल्यांकन सूची तयार गर्नेछ । राजनीतिक दलले प्राप्त गरेको अंकका आधारमा राज्यबाट प्राप्त हुने सुविधा वितरण हुनेछ । अबको प्रश्न यहाँनेर छ– राजनीतिक दलले नम्बर पाउँदा के कस्ता सावधानी अपनाइन्छ ? मूल्यांकन निष्पक्ष हुने आधार के कस्ता छन् ? यसतर्फ निर्वाचन आयोग सतर्क हुन आवश्यक छ । 

राजनीतिक दल र तिनको व्यवहार कस्तो छ ? त्यसले मुलुकलाई निर्देशित गरिरहेको छ । दलभित्रको पारदर्शिता कस्तो छ ? त्यसले राज्य सञ्चालनकै पारदर्शिता दर्साइरहेको हुन्छ । बोलीमा एउटा एक र व्यवहारमा अर्कै प्रवृति अपनाउने नेपाली राजनीतिको चरित्र राजनीतिक दलले पाउने नम्बरमा प्रकट नहोस् । दलभित्रको आर्थिक अपारदर्शिता तोड्ने गरी आएको पार्टी सञ्चालनको खर्च सरकारले बेहोर्ने नीतिको सही कार्यन्वयन हुन सकोस् । ताकि नागरिक तहमा रहेको राजनीतिप्रतिको वितृष्णा कम गर्दै जनप्रतिनिधिहरूले मतमा मात्रै नभएर मनमा समेत जित्न सकून् । यही नै जनताले चुनेका प्रतिनिधिमार्फत शासन व्यवस्था सञ्चालन हुने लोकतान्त्रिक प्रणाली हो । जो नेपालले संविधानतः अभ्यास गरिरहेको छ । 

uae

सम्बन्धित खबर