काठमाडौं : वैदेशिक रोजगारमा रहेका करिब १८ लाख कामदार योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोडिएका छन् । कोषले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गत आर्थिक वर्ष २०८१/०८२ सम्म २० हजार ९९१ रोजगारदाता र २३ लाख ७४ हजार ४८६ योगदानकर्ता आबद्ध भएकोमा वैदेशिक रोजगारमा गएकाहरूको संख्या १७ लाख ८५ हजार ५७३ जना रहेको जानकारी दिइएको छ ।
वैदेशिक रोजगारमा गएकाहरूको योगदान अर्थात् रकम जम्मा गर्ने काम नियमित भने हुन सकेको छैन । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकबाट हुने योगदान रकमको नियमितताका लागि प्रयास जारी रहेको बताए ।
कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको स्वास्थ्य जिम्मा लिने घोषणा गरेको छ । कार्यकारी निर्देशक अधिकारीले अबको करिब चार वर्षमा श्रमिक र परिवारको स्वास्थ्यको जिम्मा कोषमार्फत राज्यले लिने गरी काम भइरहेको जानकारी दिए ।