काठमाडौं : वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले आ.व. २०८०/०८१ मा ११ प्रतिशत भन्दा बढी महिलाहरु वैदेशिक रोजगारीमा गएको बताएका छन् । मंगलबार महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कुल वैदेशिक रोजगारीमा जानेको संख्यामध्ये महिलाको संख्या आ.व. २०७७/०७८ मा ६.८७ प्रतिशत, २०७८/०७९ मा ७.७९ प्रतिशत, २०७९/०८० मा ९.३५ प्रतिशत र २०८०/०८१ मा ११ प्रतिशत भन्दा बढी रहेको बताए ।
महिलाहरुको वैदेशिक रोजगारीमा सहभागिता दर क्रमिक रुपले बढ्दै गएको भन्दै कतिपय मुलुकमा श्रम स्वीकृति दिएर जान रोक लगाइए पनि अवैधानिक बाटोबाट जाने गरेको उनले बताए । उनले अवैधानिक रुपबाट वैदेशिक रोजगारीमा जानेहरु विभिन्न शोषण र समस्यामा पर्ने गरेको बताए ।
पछिल्लो समयमा संस्थागतरुपले जाने भन्दा व्यक्तिगतरुपमा जाने दर बढिरहेको उनले जानकारी दिए । उनले संस्थागतभन्दा व्यक्तिगतरुपमा जाने श्रमीकहरु बढी ठगीमा परिरहेको पनि जानकारी दिए ।