काठमाडौं : वैदेशिक रोजगार क्षेत्रमा विगत २० वर्षदेखि क्रियाशील आकर्षण इन्टरनेशनल प्रा.लि.ले आफ्नो २०औं वार्षिकोत्सव सामाजिक उत्तरदायित्वसँग जोड्दै अपांग पुनर्स्थापना केन्द्रका बालबालिकासँग मनाएको छ ।
कम्पनीले वार्षिकोत्सवको अवसर पारेर बिहीबार गोकर्णेश्वरस्थित अपांग पुनर्स्थापना केन्द्रमा पुगेर आश्रित बालबालिकालाई खाद्यान्न र शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । संस्थाले यसै माध्यमबाट सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।
काठमाडौं महानगरपालिका-९, शम्भुमार्गमा रहेको यस कम्पनीले न्यायोचित भर्ना प्रक्रिया अवलम्बन गर्दै आएको छ । कम्पनीले श्रमिकलाई निःशुल्क र पारदर्शी प्रक्रियामार्फत वैदेशिक रोजगारमा पठाउने सिद्धान्तमा आधारित रही ‘रोजगादाताले तिर्ने’ मोडलअनुसार सेवा प्रदान गर्दै आएको कम्पनीका अध्यक्ष विष्णुबहादुर केसीले मध्यान्हलाई जानकारी दिए ।
कम्पनीले मलेसियालगायतका विभिन्न गन्तव्य मुलुकहरूमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), आरबीए र ओटीएल जस्ता संस्थाको मापदण्ड अनुरूप सञ्चालनमा रहेका रोजगारदाता कम्पनीहरूमार्फत मात्र नेपाली कामदार पठाउँदै आएको जनाएको छ । मापदण्डको प्रभावकारी कार्यान्वयनका आधारमा ओटीएलले आकर्षण इन्टरनेशनललाई आधिकारिक रूपमा प्रमाणित पनि गरिसकेको छ ।
यसैबीच, कम्पनीले आफ्नो आन्तरिक कार्यप्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्दै व्यावसायिक स्रोत व्यवस्थापन प्रणाली लागू गरेको जानकारी पनि गराएको छ । प्रणाली लागू भएसँगै रोजगारदाता र श्रमिक दुवै पक्षले सहज, पारदर्शी र परिणाममुखी सेवा पाउने अपेक्षा गरिएको अध्यक्ष केसीले बताए ।