२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

यूएई दूतावासका कर्मचारीलाई अख्तियार पुर्‍याउने मञ्चको चेतावनी

Nada
२०८२ साउन २ गते ०६:३०
Shares
यूएई दूतावासका कर्मचारीलाई अख्तियार पुर्‍याउने मञ्चको चेतावनी

काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासको श्रम शाखाले मागपत्र प्रमाणीकरण गर्दा ढिलासुस्ती, मोलमोलाइ र अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।

ncell

मञ्चले बिहीबार विज्ञप्ति जारी गर्दै मागपत्र प्रमाणीकरण प्रक्रियामा दूतावासले देखाएको व्यवहारले नेपाल आउने मागपत्रमा ढिलाइ हुनुका साथै राजस्व संकलनसमेत प्रभावित भएको उल्लेख गरेको छ ।

मञ्चका महासचिव मिलन कट्टेलद्वारा जारी विज्ञप्तिमा एउटै प्रक्रियामा भएका आवेदन प्रमाणीकरण कसैको तत्कालै हुने गरेको तथा कसैको महिना दिनसम्म अड्किने गरेको बताएका छन् ।

मञ्चले दूतावासमा सुशासनभन्दा भनसुन र दलाली प्रवृत्तिको विकास भएको आरोप लगाउँदै  प्रश्न गरेको छ, ‘यो दूतावास हो कि दलाल केन्द्र ?’

कानुनी प्रक्रियाभित्र रही समयमै सेवा प्राप्त गर्ने अधिकारमा हस्तक्षेप हुनु आपत्तिजनक मात्र नभइ आपराधिक गतिविधि भएको भन्दै मञ्चले आफूहरू कुनै अवैध मागको पक्षमा नरहेको जिकिर गरेको छ ।

मञ्चले दूतावासमा सुधार नभएमा दूतावासका सम्बन्धित कर्मचारीलाई संसद्को अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, परराष्ट्र मन्त्रालयलगायत जिम्मेवार निकायहरूसँग जवाफदेही बनाउने चेतावनी पनि दिएको छ ।

यूएईस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणमा बिना कारण र आधार संख्याको तगारो लगाएर रोजगारदाता कम्पनीलाई चिढाएको आरोप लाग्ने गरेको छ । 

दूतावासले भने कुनै मोलमोलाइ नभइ जनशक्तिको अभावले सेवा प्रवाहमा ढिलाइ हुने गरेको बताउने गरेको छ । दूतावासले गत जुन १० देखि अनलाइनमार्फत मागपत्र प्रमाणीकरण प्रक्रिया सुरु गरेको बताएको छ । तर म्यानपावर व्यवसायीले प्रणाली सेवाग्राहीमैत्री नभएको र सास्ती दिएको गुनासो गर्ने गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर