काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशाम्सीबीच भेटवार्ता भएको छ ।
आज भएको उक्त भेटवार्तामा उनीहरुबीच यूएईमा कार्यरत नेपाली कामदारका लागि न्यूनतम एक हजार दिराम तलब अनिवार्य रूपमा लागू गर्ने विषयमा छलफल भएको मन्त्री भण्डारीको निजी सचिवालयले जानकारी दिएको छ ।
मन्त्री भण्डारीले विगत लामो समयदेखि नेपाली श्रमिकहरू अत्यन्तै न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएको स्मरण गराउँदै अब न्यूनतम एक हजार दिराम नगद तलब र थप ४०० दिराम बराबरको आवास तथा खानाको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।
नेपाली श्रमिकका लागि जम्मा एक हजार ४०० दिराम बराबरको सेवासुविधा सुनिश्चित गर्न यूएई सरकारलाई मन्त्री भण्डारीले आग्रह गरे ।
सो अवसरमा राजदूत अलशाम्सीले नेपाल सरकारद्वारा तय गरिएको न्यूनतम तलबको व्यवस्थालाई यूएई सरकारले सकारात्मक रूपमा लिएको बताए । यसको कार्यान्वयनमा आफूहरुको पूर्ण समर्थन रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । “नेपाल सरकारद्वारा तय गरिएको नीति यूएईले पूर्ण रूपमा कार्यान्वयन गर्न तयार छ”, उनले भने ।
भेटका क्रममा राजदूत अलशाम्सीले महिला घरेलु कामदारका लागि नेपाल सरकारले अघि सारेको पाइलट परियोजनाबारे समेत चासो व्यक्त गरेका थिए ।
मन्त्री भण्डारीले पाइलट परियोजनाका लागि सबै आन्तरिक तयारी सम्पन्न भइसकेको जानकारी दिए । उनले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको निर्णय आएलगत्तै घरेलु कामदार पठाउने प्रक्रिया सुरु हुने विश्वास व्यक्त गरे ।
नेपाल सरकारले श्रमसम्बन्धी सम्पूर्ण सेवा–सुविधालाई ‘डिजिटलाइजेसन’तर्फ अगाडि बढाइरहेको जानकारी गराउँदै उनले त्यसमा यूएई सरकारसँग सहकार्यको अपेक्षा गरिएको बताए ।