काठमाडौंः पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा भवन भत्किँदा मृत्यु हुनेको संख्या २७ पुगेको छ । मृत्यु हुनेको संख्या पुष्टि गर्दै अपरेशनका प्रवक्ता हसन उल हसीब खानले उद्धार गतिविधिहरू अन्तिम चरणमा रहेको र अधिकांश भवनको भग्नावशेष हटाइएको बताए ।
उनले पीडितहरूमा कम्तिमा १५ महिला र तीन बालबालिका रहेको बताए । तीन जनाको अवस्था गम्भिर रहेको बताए । ४८ घण्टाभन्दा बढी समयसम्म चलेको अपरेशनको क्रममा भग्नावशेष हटाउन भारी मेसिनरी र आधुनिक उपकरणहरू प्रयोग गरिएको थियो । स्थानीय अधिकारीहरूकाअनुसार भवन संरचना ३० वर्ष पुरानो थियो । घटनाको अनुसन्धान गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।