प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठाको परियोजना मानेको त्रिवि क्रिकेट रंगशालामा दोस्रोपटक थपिएको मितिमा पनि नबन्ने भएको छ । प्रधानमन्त्री ओलीले दोस्रोपटक घोषणा गरेको समयमा यही असार मसान्तमा सकिदैछ । तर त्यसअघि नै युवा तथा खेलकुद मन्त्रालयले यो मसान्तभित्र रंगशाला तयार नहुने जानकारी दिइसकेको छ । नेकपा एमालेका अध्यक्ष ओलीले गत वर्ष ३१ असारमा चौथोपटक प्रधानमन्त्री नियुक्त भएपछि पहिलो निर्णयका रुपमा क्रिकेट रंगशालामा फ्लड लाइट जडान र प्याराफिट निर्माण ३०० दिनभित्र गरिसक्ने निर्णय गरेका थिए । मन्त्रिपरिषद्को यो पहिलो निर्णयलाई ओलीले सामाजिक सञ्जाल मार्फत् आफै सार्वजनिक गरेका थिए । युवा पुस्ताको ध्यान तान्न प्रधानमन्त्री ओलीले क्रिकेट रंगशाला निर्माणलाई प्रतिष्ठाको परियोजना बनाएका थिए ।
तर घोषित ३०० दिनभित्र रंगशालामा फ्लडलाइट जडान र प्याराफिट निर्माण हुन सकेन । घोषित मितिमा निर्माण सकिएको भए गत २४ वैशाखमा प्रधानमन्त्री ओलीले रंगशाला शिलान्यास गर्ने थिए । तर घोषित मितिको तीन दिन अगि ओलीले सामाजिक सञ्जालबाटै आफूले भनेको समयमा काम हुन नसकेको जानकारी दिए । दोष भने उनले ठेकेदारलाई दिएका थिए । ठेकेदारका कारणले रंगशाला निर्माण समयमा नसकिएको भन्दै थप दुई महिनामा काम सकिने बताएका थिए । तर थपिएको दुई महिनामा पनि रंगशाला निर्माणाधीन अवस्थामै रहने भएको छ । अर्थात् ओलीको पहिलो निर्णय नै अधँुरो हुन पुगेको छ । त्यसमा पनि आम युवाहरुको चासो रहेको रंगशाला बनाउन ओली असफल भए ।
जबकि ओलीका निम्ति यो अन्तिम अवसर थियो । चौथोपटक प्रधानमन्त्री रहेका ओली अर्कोपटक के हुने भन्ने निश्चित छैन । एमालेभित्रै ओलीको विकल्प खोज्ने गतिविधि तीव्र छ । यसअघि यस्तो दृष्य एमालेभित्र देखिएको थिएन । तर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएपछि ओलीको विकल्प खोजी तीव्र छ । यस्तो बेला ओलीले काम गरेरै आफूलाई स्थापित गर्नुपर्ने हो । अभिव्यक्तिकै कारण त अब उनलाई पत्याउने अवस्था छैन । चौथोपटक प्रधानमन्त्री पदको शपथ लिएपछि ओलीले पनि काम गरेरै स्थापित हुने बताएका थिए । तर पहिलो परियोजनामै उनी असफल भए । अरु परियोजनाहरुको विकास अवस्था पनि चित्तबुझ्दो छैन । यस्तो अवस्थाको रियलाइजेसन भने प्रधानमन्त्रीमा देखिएको छैन । सरकारको वर्षदिन पुगिरहँदा यसतर्फ प्रधानमन्त्रीलाई साझेदार र समकालीन नेताहरुले सम्झाइदिन जरुरी छ ।