२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

उच्च अदालतमा ४ जना मुख्य न्यायाधीशमा सिफारिस

Nada
२०८२ जेठ ३० गते १६:००
Shares
उच्च अदालतमा ४ जना मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौं : न्याय परिषद्ले उच्च अदालतमा ४ मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ ।

ncell

न्याय परिषद्ले लामो गृहकार्यपछि शुक्रबार न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा दरबन्दी भई तुल्सीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो ।

बैठकले भट्टराईलाई उच्च अदालत विराटनगर, कुवँरलाई उच्च अदालत पाटन, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरमा पदस्थापनका लागि पनि सिफारिस गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षत्रीले जानकारी दिए ।
भट्टराई र कुँवर सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारबाट उच्च अदालतका न्यायाधीश भएका हुन् । उनीहरूलाई वरीयतामा अगाडि राख्न २०८० असोजमा न्याय परिषद्ले नियमावली नै संशोधन गरेको थियो ।

यस्तै उच्च अदालतका दुई न्यायाधीशको सरुवाका लागि सिफारिस गरिएको छ । न्याय परिषद् बैठकले दुई न्यायाधीशको सरुवाको सिफारिस गर्ने निर्णय गरेको हो ।

न्याय परिषद्का अनुसार उच्च अदालत दिपालका न्यायाधीश (हाल वैदेशिक रोजगार न्यायाधीशकरणमा काजमा कार्यरत) गोकर्ण डाँगीलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सरुवा सिफारिस गरिएको छ ।

त्यस्तै वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन, हेटौँडा इजलासमा कार्यरत न्यायाधीश डा शान्ता सेढाई साफकोटालाई तोक्न सिफारिस गरिएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर