२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दरबन्दी बाहिरका पदमा विज्ञापन गरेको आरोप

Nada
दिलमाया शाही
२०८२ जेठ २५ गते २१:२६
Shares
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दरबन्दी बाहिरका पदमा विज्ञापन गरेको आरोप

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका कर्मचारीहरूले रजिष्टार नृपेन्द्र बहादुर महतविरुद्ध पत्रकार सम्मेलन गर्दै संस्थाभित्र भइरहेको अनियमितता र मनोमानीविरुद्ध गम्भीर आरोप लगाएका छन् । कर्मचारीहरूले महतले दरबन्दी किताबमा नरहेका पदहरूको विज्ञापन गरी संस्थालाई धरासायी बनाउने प्रयास गरेको आरोप लगाएका छन् । 

ncell

पत्रकार सम्मेलनमा उनीहरूले जेठ २३ गते प्रतिष्ठानको वेबसाइटमा प्रकाशित विज्ञापनप्रति आपत्ति जनाउँदै सो विज्ञापन कार्यकारी परिषद्को स्वीकृति बिना रजिष्टार महतको एकल निर्णयमा गरिएको दाबी गरे । प्रकाशित विज्ञापनमा दरबन्दी कितावमा नरहेका पदहरू समेटिएको र यो नियोजित तरिकाले आफ्ना आसेपासेहरूलाई नियुक्त गर्न गरिएको आरोप लगाइएको छ ।

कर्मचारीहरूले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘प्रतिष्ठान ऐन, २०६९ को दफा ४३ अनुसार नेपाल सरकारलाई आर्थिक भार पर्ने विषयमा नियम बनाउँदा सरकारको स्वीकृति अनिवार्य छ । तर, उक्त व्यवस्थाको अवहेलना गर्दै रजिष्टार महतले मनोमानी ढंगले विज्ञापन प्रकाशन गरेका छन् ।’

बरिष्ठ प्रशासकीय अधिकृत दण्ड बहादुर शाहीले विज्ञापन प्रक्रिया नियमविपरीत भएको बताउँदै रजिष्टारले सात दिनको छोटो अवधि राखेर विज्ञापन गरेको बताए । नियमावलीअनुसार न्यूनतम २१ दिनको अवधि दिनुपर्ने व्यवस्था छ ।

कर्मचारीहरूले चेतावनी दिँदै भनेका छन्, ‘यदि ४८ घण्टाभित्र विज्ञापन खारेज गरी दरबन्दी बाहिर नियुक्त गरिएका कर्मचारी हटाइएन भने हामी सोमबारदेखि आपतकालीन सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्नेछौं ।’

उक्त विज्ञापन प्रकाशन हुनु केही दिनमै रजिष्टार महतको पदावधि सकिँदैछ, जुन बेला यस्तो विज्ञापन प्रकाशन गरिनु स्वयंमा शंकास्पद रहेको कर्मचारीहरूको ठहर छ ।

कर्मचारी युनियन र कर्मचारी कल्याणकारी समाजले पनि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विज्ञापन खारेजी र संस्थाको मर्यादा जोगाउन आह्वान गरेका छन् । 

उक्त विषयमा कर्मचारीहरूले प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति, स्वास्थ्य मन्त्री तथा सह–कुलपति, लगायत सम्बन्धित निकायहरूलाई ध्यानाकर्षण गराएका छन् । 

ताजा खबर

सम्बन्धित खबर