२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सकारात्मक काममा साथ, गलतमा खबरदारी गर्ने प्रतिबद्धता

Nada
दिलमाया शाही
२०८२ जेठ २४ गते २१:५३
Shares
सकारात्मक काममा साथ, गलतमा खबरदारी गर्ने प्रतिबद्धता

जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिकामा नेकपा (माओवादी केन्द्र) नगर समितिले पार्टीका तर्फबाट सामाजिक उत्तरदायित्व, पारदर्शिता र जनहितका सवालमा प्रतिबद्धता सार्वजनिक गरेको छ ।

ncell

पत्रकार सम्मेलन गरी नगर समितिका अध्यक्ष सुरेन्द्र बहादुर महतले स्थानीय विकास, शिक्षा, स्वास्थ्य, स्वच्छता र पूर्वाधार विस्तारजस्ता जनमुखी कार्यमा पार्टीले सक्रिय भूमिका निर्वाह गर्ने जानकारी दिए । उनले भने, ‘हामी हरेक सकारात्मक काममा साथ दिन तयार छौं। तर जनताको हितविपरीत हुने गतिविधि चुप लागेर हेर्नेवाला छैनौं, प्रतिवाद गर्छौं।’

उनका अनुसार नगर भित्र देखिएको भ्रष्टाचार, अनियमितता, सार्वजनिक स्रोतको दुरुपयोगजस्ता क्रियाकलापको खबरदारी गर्दै आवश्यक परे कानुनी प्रक्रिया अगाडि बढाउने तयारी समेत गरिएको छ । पार्टीले स्थानीय कार्यालयहरूमा सेवा प्रवाह सुलभ नभएको, भ्रष्टाचारजन्य हर्कत भएको जनगुनासोका आधारमा निगरानी बढाउने निर्णय लिएको छ ।

वरिष्ठ उपाध्यक्ष चन्द्रवती उपाध्यायले महिला तथा बालबालिका माथिको बढ्दो हिंसा न्यूनीकरणमा कुनै पनि राजनीतिक पूर्वाग्रह नराखी पहल गर्ने बताइन् । साथै, उनले हाल स्थानीय सरकार जनअपेक्षाअनुसार काम गर्न असफल रहेको, नीति तथा कार्यक्रमहरू कागजमै सीमित भएर कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरिन् । 

सचिव कृष्ण बहादुर सुनारले पछिल्लो समय जुम्लामा लागुऔषध दुरुपयोग बढ्दै गएकाले त्यसको न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम संचालन गरिने बताए । साथै, विकासका नाममा बजेट दुरुपयोग, साना ठेकेदारसँगको साँठगाँठ र अनियमितताले स्थानीय शासनको विश्वसनीयता घटाएको भन्दै जनचेतना र जनदवाब आवश्यक रहेको धारणा राखे । 

कार्यक्रममार्फत पार्टीले सम्पूर्ण युवा, महिला, किसान, मजदुर तथा बुद्धिजीवी वर्गलाई जनसरोकारका विषयमा आवाज उठाउन र जनमुखी अभियानमा सहभागी हुन आह्वान गरेको छ । चन्दननाथ नगर समितिको यो कदमलाई पारदर्शिता, जवाफदेहिता र जनताको पक्षमा सशक्त राजनीतिक प्रतिबद्धताका रूपमा हेरिएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर