२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

म्याग्दीमा बङ्गुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

Nada
२०८१ चैत २२ गते ०९:०८
Shares
म्याग्दीमा बङ्गुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

म्याग्दी : बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बङ्गुर जोन कार्यक्रममार्फत बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो ।

ncell

परियोजनाका प्रमुख भरत गौतमले म्याग्दीमा पहिलो पटक मङ्गला गाउँपालिका–५ हाडेभिरका विमल सापकोटाको फार्ममा पालिएका बङ्गुरमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा वीर्यबाट नि:शुल्क कृत्रिम गर्भाधान सेवा सुरु गरिएको जानकारी दिए ।

“राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरासँग समन्वय गरेर प्राविधिक गङ्गामति रोकाले कृत्रिम गर्भाधान गराउनुभएको हो”, उनले भने, “हाललाई सहज यातायात सुविधा भएका म्याग्दीका बङ्गुर फार्ममा यो सेवा उपलब्ध गराउँछौँ ।”

उपयुक्त समय र विधि भएमा जमेको वीर्यभन्दा ताजा वीर्यबाट गर्भाधान दर उच्च (९० प्रतिशत) हुने परियोजना प्रमुख गौतमले बताए । पशु प्रजनन कार्यालय पोखराबाट बोसो कम हुने अमेरिकन नश्लको बङ्गुरको वीर्य नि:शुल्क उपलब्ध गराइएको परियोजनाले जनाएको छ ।

कृत्रिम गर्भाधान सेवाबाट स्थानीय जातका बङ्गुरको नश्ल सुधारमा सहयोग पुग्ने किसान सापकोटाले बताए । म्याग्दीमा यसअघि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहका पशु सेवा शाखाले गाईभैँसीमा कृत्रिम गर्भाधान सेवा सञ्चालन गरेका थिए ।

बेनी नगरपालिका, मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पछिल्लो तीन वर्षयता बङ्गुरपालक किसानलाई परियोजनाले जोन कार्यक्रममार्फत सघाउँदै आएको छ ।

ताजा खबर

सम्बन्धित खबर