२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कर्णालीमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन

Nada
रासस
२०८१ चैत २१ गते १३:३६
Shares
कर्णालीमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन

सुर्खेतः कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यन्नमध्ये सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यो वर्ष कर्णालीमा सबैभन्दा बढी दुई लाख ५८ हजार ८७६ मेट्रिक टन मकै उत्पादन भएको छ । 

ncell

कर्णालीमा ८२ हजार ८०८ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको मन्त्रालयअन्तर्गत कृषि निर्देशनालयले जनाएको छ । मकैपछि बढी उत्पादन हुने बाली गहुँ हो । प्रदेशका दशवटै जिल्लाको तथ्याङ्क अनुसार ७१ हजार ७६९ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिँदै आइएको छ । गत वर्ष मात्रै प्रदेशभर एक लाख ५१ हजार ९९० मेट्रिक टन गहुँ उत्पादन भएको कृषि निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका निर्देशक तिलक पाण्डेका अनुसार धान उत्पादन तेस्रो स्थानमा पर्दछ । गत वर्ष एक लाख ४६ हजार ६७९ मेट्रिक टन धान उत्पादन भएको जनाउँदै उनले कर्णालीमा ४१ हजार ३०४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको उल्लेख गरे ।

कोदो १८ हजार ८२६ मेट्रिक टन, जौ नौ हजार ७०९ मेट्रिक टन र फापर दुई हजार ६३३ मेट्रिक टन उत्पादन भएको पाण्डेले जानकारी दिए । कोदो र फापर विशेषगरी हिमाली क्षेत्रमा उत्पादन हुने गरेको छ । जसअन्तर्गत १३ हजार ७०४ हेक्टर क्षेत्रफलमा कोदो र दुई हजार ३७७ हेक्टर क्षेत्रफलमा फापरखेती हुँदै आएको निर्देशनालयले जनाएको छ । 

कुन जिल्लामा कति खाद्यन्न उत्पादन ?

निर्देशनालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी मकै उत्पादन हुने जिल्ला सल्यान हो । सल्यानमा यो वर्ष ७४ हजार ७०० मेट्रिक टन मकै उत्पादन भएको छ । सुर्खेतमा ४५ हजार ४७५ मेट्रिक टन मकै उत्पादन हुँदा दैलेखमा ४५ हजार ३१० मेट्रिक टन, जाजरकोटमा ३३ हजार ३१३ मेट्रिक टन, रुकुम पश्चिमा ३५ हजार ३४० मेट्रिक टन मकै उत्पादन भएको निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिए । 

उनका अनुसार कालीकोटमा आठ हजार ६० मेट्रिक टन, जुम्लामा १० हजार ५०० मेट्रिक टन, मुगुमा दुई हजार १३८ मेट्रिक टन, डोल्पामा तीन हजार ७५० मेट्रिक टन र हुम्लामा २९० मेट्रिक टन मकै उत्पादन भएको छ । 

यस्तै, गहुँ उत्पादनमा सुर्खेत अगाडि देखिएको छ । सुर्खेतमा यो वर्ष ३४ हजार १०२ मेट्रिक टन उत्पादन भएको छभने सल्यानमा २८ हजार ५२८ मेट्रिक टन गहुँ उत्पादन भएको छ । 

जाजरकोटमा २५ हजार १०० मेट्रिक टन, रुकुम पश्चिममा २१ हजार ७१३ मेट्रिक टन, दैलेखमा १७ हजार २७४ मेट्रिक टन, कालीकोटमा ११ हजार ३१३ मेट्रिक टन, जुम्लामा पाँच हजार ४०८ मेट्रिक टन, डोल्पामा चार हजार १६५ मेट्रिक टन, मुगुमा तीन हजार २७२ मेट्रिक टन र हुम्लामा एक हजार ११५ मेट्रिक टन गहुँ उत्पादन भएको निर्देशनालयले जनाएको छ । 

धान उत्पादनमा पनि सुर्खेत पहिलो देखिएको निर्देशनालयका निर्देशक पाण्डेले बताए । यो वर्ष उत्पादन भएको धानको तथ्याङ्कलाई हेर्दा सुर्खेतमा ६३ हजार ८० मेट्रिक टन उत्पादन भएको छ । उनका अनुसार दैलेखमा २७ हजार १५२ मेट्रिक टन, सल्यानमा २३ हजार ७१० मेट्रिक टन, रुकुम पश्चिममा नौ हजार ४५५ मेट्रिक टन, जाजरकोटमा नौ हजार ३०७, जुम्लामा पाँच हजार ९८७, कालीकोटमा पाँच हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ । 

यस्तै, हुम्लामा एक हजार १२० मेट्रिक टन धान उत्पादन हुँदा मुगुमा एक हजार २३ मेट्रिक टन र डोल्पामा ३४५ मेट्रिक टन धान उत्पादन भएको छ । कर्णालीमा सात जिल्ला खाद्यान्नमा आत्मनिर्भर छन् भने अन्य तीन जिल्ला खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनन् । 

कर्णालीमा उत्पादन बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आइएको प्रदेश सरकारले जनाएको छ । सरकारले ब्याज अनुदानमा ऋण उपलब्ध गराउनेदेखि उत्कृष्ट किसानलाई पुरस्कृत गर्नेलगायत कार्यक्रम सञ्चालन गरिरहेको निर्देशक पाण्डेले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर