२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

गजलकारद्वय कणेल र ओझाको गजलमा गुञ्जिए गायक सन्तोष

Nada
२०८१ जेठ २२ गते १५:२८
Shares
गजलकारद्वय कणेल र ओझाको गजलमा गुञ्जिए गायक सन्तोष

काठमाडौं : कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठ एकल गजल गायनमा गुञ्जिएका छन् । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा गत शनिबार भएको एक विशेष कार्यक्रममा श्रेष्ठ आफ्नै संगीतमा एकल गजल गायनमा गुञ्जिएका हुन् । पत्रकार तथा गजलकार धनेन्द्र ओझा र गजलकार राधा कणेलका शब्द र गायक सन्तोषको गजल गायनले गजलप्रेमीहरू मन्त्रमुग्ध भएका थिए । गजलकार ओझाका तीन वटा गजल र कणेलका दुई वटा गजल श्रेष्ठले प्रस्तुत गरेका थिए ।

ncell

गजल गायन कार्यक्रममा नेपाल गजल प्रतिष्ठान, अनाममण्डली, यशश्वी प्रज्ञाप्रतिष्ठान, शब्दघर कलरक्राफ्ट, आधुनिक नेपाली गजल अभियान, उत्सव, काव्यालय, जरुवा, माहुरी, गोधुली साहित्य प्रतिष्ठान, दियालो साहित्य सरगम, मध्यपश्चिमाञ्चल साहित्य परिषद्, राप्ती समाज काठमाडौं, राप्ती साहित्य परिषद्, हाम्रो मझेरी साहित्य प्रतिष्ठान, गजल अभियान दाङलगायतको साथ रहेको थियो ।

गजलकारद्वय कणेल र ओझाका शब्दमा आफ्नै संगीत र स्वरमा छ वटा गजलहरू प्रस्तुत गरेका सन्तोषले अबको नेपाली गजल गायन तीव्र र व्यावसायिक हुनुपर्ने बताए । यही समय नेपाली गजल गायनलाई उठाउने र विस्तृत बनाउने उपयुक्त समय भएकाले सन्तोष र आफूले यो दशकलाई नेपाली गजल गायनको स्वर्ण दशक बनाउने घोषणा गरेको गजलकार ओझाको भनाइ थियो ।

वाद्यवादकहरु रमेश डंगोलको तबलामा, राजकुमार समालको गीतारमा, धनबहादुर गुरुङको बाँसुरीमा र खुम के.सी.को सारंगीमा साथ रहेको ‘गजल गायन’ कार्यक्रममा अग्रज साहित्यकार डा. भोजराज घिमिरे, गजलकार डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, साहित्यकार प्रोल्लास सिन्धुलीय, गजलकारहरु प्रकाश समीर, बाबु त्रिपाठी, आधुनिक नेपाली गजल अभियानका अध्यक्ष विपीन सलामी, अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारलगायतको उपस्थित थियो ।

श्रेष्ठको संगीत र गजलकार ओझाको गजल एल्बम ‘शुभेच्छा’माथि वरिष्ठ संगीतकार राजु सिंहले चर्चा गरेका थिए । गोल्डेन क्रिएसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।

गजलकारद्वय कणेल र ओझाले १५ वर्षअघि विवाहकै दिन 'बाटो अझै छ बाँकी' संयुक्त गजल कृति प्रकाशनसहित जीवनको सहयात्रा शुरु गरेको १६औं वर्षमा गायनमा पनि सहयात्रा शुरु भएको भन्दै यसका लागि संगीतकार तथा गायक श्रेष्ठ र अभिभावक डा. घिमिरेप्रति कृतज्ञता प्रकट गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर