२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

Nada
रासस
२०८१ चैत ८ गते १७:०९
Shares
सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

काठमाडौंः कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले आफ्नो सेवामा विशेष छुट दिने भएका छन् । उक्त प्रयोजनका लागि सगरमाथा आरोही सङ्घले ती दुई कम्पनीसँग छुट्टाछुट्टै सम्झौता गरेको छ । सगरमाथा आरोहण गरेको ७१ वर्ष पुगेको स्मरण गर्दै विश्वकीर्तिमानी र कीर्तिमानी आरोहीलाई सेवामा विभिन्न छुट दिने सम्झौता भएको छ । 

ncell

सङ्घमा आबद्ध आरोही र आरोहीका परिवारलाई यती एयरलाइन्सबाट उडान गर्दा टिकटको न्यूनतम मूल्यमा थप विशेष छुटको व्यवस्था गरिएको छ । सोसम्बन्धी सम्झौतामा सङ्घका तर्फबाट अध्यक्ष माया शेर्पा र एयरलाइन्सका तर्फबाट प्रमुख व्यापार अधिकृत युवराज विष्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यसैगरी ह्याम्स अस्पतालले प्रदान गर्ने सेवामा सगरमाथा आरोही सङ्घको सिफारिसमा विश्व कीर्तिमानी आरोहीलाई ५० प्रतिशतसम्म छुटको, कीर्तिमानी आरोही र आरोहीका परिवारलाई ३० प्रतिशतसम्म छुट दिइनेछ । 

त्यसका लागि सङ्घका तर्फबाट अध्यक्ष माया शेर्पा र हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोदकुमार ढुङ्गेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त कार्यक्रममा सङ्घका तर्फबाट प्रथम उपाध्यक्ष दिवस पोखेल र महासचिव शिवबहादुर सापकोटाको उपस्थिति रहेको थियो । सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोही र आश्रित परिवारलाई एयरलाइन्स र अस्पतालको सेवामा सहुलियतका लागि दुई संस्थाबीच सहकार्य गरिएको बताए । 

उनले पर्यटन उद्योगमा महत्त्वपूर्ण योगदान गर्ने पर्वतारोहीले विदेशी मुद्रा भित्र्याउन र साहसिक पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाको कदरस्वरुप दुई संस्थाको सेवामा विशेष छुटका लागि सम्झौता भएको जानकारी दिए । यसले कीर्तिमानी आरोहीहरूको पहिचानलाई अझ जीवन्त र परीणाममुखी बनाउन मद्दत पुग्ने सङ्घको विश्वास छ । 

सङ्घले हिमाली क्षेत्रको सरसफाइ, सगरमाथा रक्षा अभियान चलाउँदै फोहाेर व्यवस्थापन, सगरमाथा आधार शिविरमा मन्त्रिपरिषद् बैठक, कोप—१५ मा जलवायु परिवर्तनले पारेको असरप्रति ध्यानाकर्षण गर्दै कोपनहेगन, डेनमार्कमा आरोहीहरूको मार्चपासलगायत कार्यहरू गरेको विज्ञप्तिमार्फत जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर