२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

शेख हसिनाको राजनीतिक दलमाथि प्रतिबन्ध नलगाइने

Nada
२०८१ चैत ८ गते १५:०८
Shares
शेख हसिनाको राजनीतिक दलमाथि प्रतिबन्ध नलगाइने

काठमाडौंः बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने आफ्नो कुनै योजना नरहेको बताएको छ ।

ncell

हसिनाको अवामी लिगमाथि उनको १५ वर्षे कार्यकालमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको थियो, जसमा ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको गत वर्षको विद्यार्थी आन्दोलनमाथि हिंसात्मक दमन पनि समावेश छ । 

सन् १९७१ मा बङ्गलादेशमा हसिनाका पिताको शासनकालमा भएको रक्तपातपूर्ण स्वतन्त्रता संग्राममा महत्वपूर्ण भूमिका खेलेको पार्टीलाई गैरकानुनी घोषित गर्न विद्यार्थी नेताहरूले माग गरेका छन् ।

नोबेल पुरस्कार विजेता तथा बङ्गलादेशको कामचलाउ सरकारका प्रमुख मोहम्मद युनुसले भने आफूले कुनै दलमाथि प्रतिबन्ध लगाउने कुनै मनसाय नराखेको बताएका छन् । 

‘युनुसले पार्टीमाथि प्रतिबन्ध लगाउने कुनै योजना अन्तरिम सरकारको रहेको छैन’, उनको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि, यसको नेतृत्वभित्रका व्यक्तिहरू जो हत्या र मानवता विरुद्धको अपराधमा आरोपित छन्, उनीहरूलाई बङ्गलादेशको अदालतमा मुद्दा चलाइनेछ।’

सत्ताच्युत भएपछि छिमेकी मुलुक भारतमा शरण लिएकी हसिना र उनका सहयोगीहरूविरुद्ध ढाकाको एक न्यायाधिकरणले यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयको तथ्य पत्ता लगाउने एक मिसनले गत महिना सत्तामा टिकिरहने प्रयासमा प्रदर्शनकारीमाथि सुनियोजित आक्रमण र हत्याका लागि उनको सरकार जिम्मेवार रहेको बताएको थियो ।

यसले ‘हत्या, यातना, कैद र अन्य अमानवीय कार्यहरू गर्ने जस्ता मानवताविरोधी अपराधहरू भएका छन् भनेर विश्वास गर्ने उचित आधारहरू’ फेला पारेको थियो । 

पूर्वप्रधानमन्त्री हसिनालाई पदच्युत गरिएदेखि नै विद्यार्थीहरूले नयाँ सरकारका लागि चुनावअघि पार्टीमाथि प्रतिबन्ध लगाउन माग गर्दै आएका छन्। अन्तरिम सरकारले गत वर्षको प्रदर्शनमा हिंसात्मक आक्रमणमा संलग्न भएको भन्दै गत अक्टोबरमा अवामी लिगको विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाएको थियो तर पार्टी सङ्गठनमाथि कुनै प्रतिबन्ध लगाइएको थिएन । 

नयाँ विद्यार्थी समर्थित राजनीतिक दलका एक प्रमुख नेता हस्नत अब्दुल्लाहले सरकारको निर्णयको निन्दा गरेका छन् । ‘अवामी लिगमाथि प्रतिबन्ध लगाउनुपर्छ,’ उनले फेसबुकमा लेखेका छन् । 

विद्यार्थी नेता नासिर उद्दिन पटवारीले गत महिना पार्टीमाथि प्रतिबन्ध नलगाउँदा बङ्गलादेश गृहयुद्धतर्फ धकेलिने चेतावनी दिएका थिए । बङ्गलादेशको प्रमुख इस्लामिक पार्टी जमातका नेता शफीकुल रहमानले पनि शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘जनताले पार्टीको ‘पुनर्स्थापना’ स्वीकार गर्ने छैनन् ।

ताजा खबर

सम्बन्धित खबर