२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

‘खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ’

Nada
२०८१ चैत ८ गते १२:४७
Shares
‘खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ’

काठमाडौंः खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको दिगो समाधान गर्न ठूला खानेपानी जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको बताएका छन् ।

ncell

राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री यादवले खानेपानीको समस्या समाधान गर्न सुनकोशी तथा राप्ती खोला डाइभर्सन गरी थोक वितरण प्रणालीमार्फत खानेपानी व्यवस्थापन गर्नेलगायत ठूला जलाशययुक्त खानेपानी आयोजनाको सम्भाव्यता अध्ययन कार्य अघि बढाइएको जनाए ।

मन्त्री यादवले सुक्खा मौसमसँगै वर्षा नहुञ्जेलसम्म तराई मधेसमा चापाकल, नदीनाला सुकी पानीको हाहाकार हुनसक्ने समस्या सम्बोधनका लागि डिप ट्युवेलबाट आयोजना सञ्चालन गरी खानेपानी आपूर्ति बढाउने मन्त्रालयको योजना रहेको बताए ।   

तराई–मधेसका जिल्लाहरूमा भूमिगत पानीको सतह घट्दै गइरहेको हुँदा तराईका जिल्लाहरूमा तत्काल समस्या समाधान गर्न सम्बन्धित आयोजना कार्यालयबाट डिप बोरिङका आयोजनाहरु सुरु भइरहेको उनको भनाइ छ ।

मन्त्री यादवले भने, ‘लामो समयदेखि निर्माणाधीन अवस्थामा रही अधुरा रहेका तराई मधेसका ‘ओभरहेड ट्यााङ्की’लगायत २८० खानेपानी आयोजना प्रदेश र स्थानीय तहसँग समन्वय गरी आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याउने गरी बजेटको तयारी भइरहेको छ । चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट बहुवर्षीय स्रोत सहमति लिई तराई मधेसका ३८ वटा खानेपानी आयोजनाको ठेक्कामार्फत निर्माण कार्य अघि बढाइएको छ ।’

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा पानीका  स्रोत÷मुहानहरूलाई पुनर्जीवित गराउन अध्ययन–अनुसन्धान र मुहान संरक्षण कार्य सुरु गर्ने योजना रहेको मन्त्री यादवले जानकारी गराए । उनका अनुसार सुरक्षित खानेपानीको सुनिश्चितताका लागि प्रत्येक खानेपानी प्रणालीमा ‘क्लोरिनेसन युनिट’ जडान कार्य अघि बढाइएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर