२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

आँचल, अनजान र प्रमोदले ल्याए ‘रुद्राक्ष’, ‘आगोको होली’ र ‘अन्दाज’

Nada
२०८१ चैत ३ गते २०:४३
Shares
आँचल, अनजान र प्रमोदले ल्याए ‘रुद्राक्ष’, ‘आगोको होली’ र ‘अन्दाज’

काठमाडौं : शनिबार गजलकारत्रय आँचलकुमार शर्मा, अनजान यात्री र प्रमोद थापाका गजलकृतिहरू क्रमशः ‘रुद्राक्ष’, ‘आगोको होली’ र ‘अन्दाज’ सार्वजनिक गरिएको छ ।

ncell

अग्रज कवि, गीतकार एवं गजलकारहरू रवि प्राञ्जल, करुण थापा, अग्रज कवि एवं गीतकार शंकर कोइराला, गजलकारहरू डा. प्रदीपकुमार मैनाली, भुवन निस्तेज, राधा कणेललगायत करिब डेढ सय व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा भुवन निस्तेजले ३ वटै कृतिमाथि समीक्षा प्रस्तुत गरेका थिए ।

निस्तेजले कृतिमाथि समीक्षा गर्दै ३ वटै कृति अब्बल भएका बताए । ‘बहर–बहार’ नामक पाठशालाामा अभ्यास गरिएका अधिकांश रचना कृतिमा भएका भन्दै निस्तेजले तर कृतिभित्रका गजलमा आ–आफ्नै शैली र स्वाद दिन गजलकारहरू सफल भएका उल्लेख गरे ।

प्रमुख अतिथि प्राञ्जलले पछिल्लो समय नेपाली गजलले परिष्कारको मार्ग समातिसकेको भन्दै यी कृतिहरूले अबको नेपाली गजल कता जाँदै छ भन्ने संकेत गरेका सुनाए । उनले लामो समयको साधना र अभ्यास अनि अध्ययन र मन्थनले सिर्जनालाई परिष्कृत बनाउने आशय व्यक्त गर्दै विमोचित कृतिका स्रष्टाहरूलाई बधाई र शुभकामना दिए ।

२ चरणमा विभाजन गरिएको कार्यक्रमको दोस्रो चरणमा तीनै कृतिका गजलकारहरूले  पालैपालो ४÷४ वटा गजल वाचन गरेका थिए ।

भाउ सोधी भावको गर्न सक्छ दिल्लगी
रूपको बजारमा मनको के कुरा गरूँ ?

गजलकार प्रमोद थापाका यिनै शेरहरूबाट सुरु भएको वाचन कार्यक्रमको मध्यमा अनजान यात्रीले आफ्ना शेरहरू यसरी गुनगुनाए :

आऊ तिमी डढेलो भै मेरो जिन्दगीमा
आगोको होली खेल्ने सपना पूरा हुने छ ।

लगत्तै गजलकार आँचलकुमार शर्माले आफ्ना गजलका शेरहरूमा शृंगार पोखे :

सुटुक्क आयौ मुसुक्क हाँसेर सुम्सुम्यायौ
मिठामिठा तर्कनाहरू अंकमाल गर्छन् 

नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले अबको समय गजल गायनको रहेको संकेत गर्दै भने, ‘यी ३ कृतिका अधिकांश गजल अब गायनमा आउने छन् ।’

सम्बन्धित खबर