२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

कविता : नेपाल हाम्रो घर

Nada
२०८१ चैत २ गते ०६:००
Shares
कविता : नेपाल हाम्रो घर

–बिमला चन्द सानू

ncell

काट्दैछन् रिस नागका फण लिई मानेन आफू भनी 
आफ्नो नाम रहेर मात्र ठिक भो जान्दैन कोही पनि 
देख्नै हुन्न यहाँ कुनै तरहका नौला नयाँ सिर्जना
बोल्छन् ती कपटी बनी गजबले गर्छन् बडो गर्जना ।।

स्वार्थीका पद लाभ छन् हृदयमा छैनन् कुनै जाँगर
कुर्लिन्छन् वन स्यालका तरहले हुन्छन् सिनोका भर 
देख्छन् लाख बिमार छन् शिविरमा मान्दैन मै छू पनि 
पौडिन्छन् छलछामले गरिबका पार्दै हिया रन्थनी ।।

खाऊँ साथ मिलेर भन्छ सजिलै मार्दै ठुलो बुर्कुसी 
यस्तै जाल परेर फस्छ बबुरो मर्दै छ पासो कसी 
दोषी छैन भनेर हुन्न अब लौ छन् लाख यो रोडमा
लाखौं छन् सपना मरे सडकमा छौ आज कुन् मोडमा ।।

माखो मार्नसमेत छैन बलमा गर्छन् ठुला भाषण 
च्याँखे थाप्न अगाडि छन् बरु यहाँ माग्छन् उँचो आसन
यस्तै हर्कत देख्नसम्म सकियो पत्यार होस् के गरी 
त्यस्तै हो पदचापसम्म नरही बग्छन् भदौका झरी ।।

प्यारो देश बनाउने रहरले गर्छौ भने कामना
मात्रै देश बसाउ त्यो हृदयमा छोडी नराम्रोपना
प्यारो सुन्दर देश हो भुवनमा यस्तो यहाँ को छ र ?
हे प्यारा जन सोच है समयमै नेपाल हाम्रो घर ।।

बैतडी

सम्बन्धित खबर