२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

होली भड्किलो नबनाउन आग्रह

Nada
२०८१ फागुन २७ गते १५:५१
Shares
होली भड्किलो नबनाउन आग्रह

काठमाडौं  : जिल्ला प्रशासन कार्यालय काठमाडौंले होलीको नाममा भड्किला कार्यक्रम नगर्न आग्रह गरेको छ ।

ncell

प्रशासन कार्यालयले कसैको इच्छा विपरीत रंग दल्ने, पानी वा लोला हान्ने काम नगर्न पनि अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सामाजिक सद्भाव र भाइचारा कायम गर्दै होली मनाउन अनुरोध गरेका छन् ।

‘विगतको तुलनामा हालैका वर्षहरूमा होली पर्व मनाउने नाउँमा अनावश्यक तडक भडक सहितका विभिन्न खर्चिला÷भड्किला कार्यक्रमहरू हुने गरेको पाइएको छ,’ कानुनी व्यवस्था सम्झाउँदै प्रवक्ता पौडेलले भने, ‘सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ ।’

चाडपर्वहरूको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला, झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी कसैको इच्छा विपरीत पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, रंग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न उनले अनुरोध गरेका हुन् ।

आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी साँस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन काठमाडौं प्रशासनले अनुरोध गरेको हो । तर कोही कसैले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवम् गैरकानूनी क्रियाकलाप गरेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी पनि उनले दिए ।
 

सम्बन्धित खबर