२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

बार निर्वाचनको मतदाता नामावलीमा विवाद

Nada
२०८१ फागुन २० गते १५:२८
Shares
बार निर्वाचनको मतदाता नामावलीमा विवाद

काठमाडौं : नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमिति निर्वाचन मतदाताको नामावलीमा विवाद भएको छ । निर्वाचन मतदाता नामावलीमा उजुरी परेपछि नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) ले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको छ ।

ncell

उच्च अदालत बार एसोसिएसनले काठमाडौं अदालत बारका ७११ जना मतदाताको नाम हटाउनुपर्ने भन्दै उजुरी गरेपछि मंगलबार डीएलएले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको हो ।

निर्वाचनका लागि ११ हजार ७ सय ७२ जनाको प्रारम्भिक नामावली सार्वजनिक भएको थियो । उक्त नामावलीमा सोमबारसम्म दाबी–विरोधको समय तोकिएको थियो ।

उच्चले काठमाडौं जिल्ला बारले बार काउन्सिलको नवीकरण नगरेको भन्दै उजुरी गरेपछि जिल्ला बार काठमाडौंले पनि नीतिगत रूपमा सबैको छानबिन गर्न माग गर्दै उजुरी गरेको थियो ।

डीएलएका अध्यक्ष सुशील राज पौडेलले बार काउन्सिल अद्यावधिक गरे/नगरेका सबैको भिडाउनुपर्नेमा निर्वाचन समितिले एकपक्षीय रूपमा काठमाडौँ बारको मात्रै छानबिन गर्न लागेकोले विरोधमा उत्रिएको बताए ।

उनले नेपाल बारको केन्द्रीय समितिले अनुमोदन गरेर निर्वाचन समितिलाई दिइसकेको मतदाता नामावली निर्वाचन समितिले एकतर्फी रूपमा काठमाडौँ जिल्ला बारको हकमा मात्रै हटाउने तयारी गरेको आरोप समेत लगाए । उनले नेपाल बारको विधानको धारा २५ अनुसार मतदाता नामावली कायम गर्नुपर्ने आन्दोलनरत पक्षको माग छ ।

अध्यक्ष पौडेलले भने, ‘१५ फागुनमा प्रकाशित नेपाल बारको मतदाता नामावलीमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन भई निर्वाचन समितिलाई मतदाता नामावली दिइसके पश्चात केही साथीहरूले मतदाता नामावलीमा उजुरी गरेको कारणले गर्दा सम्पूर्ण मतदाता नामावलीहरूको हकमा छानबिन गरी मतदाता नामावली प्रकाशित गर्नुपर्नेमा सो नगरी नेपाल बारको केन्द्रीय समितिले अनुमोदन गरेर निर्वाचन समितिलाई दिइसकेको मतदाता नामावली निर्वाचन समितिले एकतर्फी रूपमा काठमाडौँ जिल्ला बारको हकमा मात्रै हटाउने तयारी गरेको हुँदा सोको विरुद्ध हामी एकताबद्ध भएर विरोधमा उत्रिएका छौँ ।’

निर्वाचन समितिले एकतर्फी रूपमा गरेको निर्णय बदर गर्नुपर्ने समेत डीएलएको माग रहेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर