२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

अर्जुनधाराधाममा २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने

Nada
२०८१ फागुन १३ गते १७:२३
Shares
अर्जुनधाराधाममा २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने

झापा : यहाँको अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गरिदिन पत्राचार गरेको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए । 

ncell

विश्व हिन्दू परिषद् नेपालसँगको सहकार्यमा अर्जुनधारा नगरपालिका–७ स्थित धामको मन्दिर परिसरमा सामूहिक विवाह उत्सवको आयोजना गरिएको हो । उनका अनुसार नयाँ वर्ष २०८२ को वैशाख २ गते विवाहको मिति निर्धारण गरिएको छ । वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेका आधारमा अभिभावकको उपस्थितिमा जोडीहरूको हिन्दू परम्पराअनुसार वैवाहिक कार्यक्रम गरिने धामले जनाएको छ ।

सामूहिक विवाहका लागि रु ६० लाख खर्च लाग्ने अनुमान गरिएको छ । २५ जोडीको विवाहमा लाग्ने सबै खर्च अर्जुनधाराधाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले व्यहोर्ने बताएका छन्। उनले आफ्नो वैवाहिक रजत वर्षगाँठका अवसरमा उक्त खर्च व्यहोरिदिने बताएका छन् । “मैले राम्रो कार्यको सुरुआत होस् भनेर पहिलो वर्षको सम्पूर्ण खर्च व्यहोर्ने भएको हुँ,” धामका अध्यक्ष गट्टानीले भने, “अर्को वर्षदेखि मन्दिर आफैँले निरन्तर रूपमा यस उत्सवलाई अगाडि बढाउनेछ ।”

उनले सामूहिक विवाहमा वरवधुलाई आवश्यक शृङ्गारिक कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरि, गाग्री खड्कुलासहित भाँडावर्तन र शुद्ध साकाहरी खानाको व्यवस्था गरिने बताए। विवाहमा हरेक वरवधुका तर्फबाट दश–दश जनाका दरले जन्ती तथा घरगाउँलेलाई उपस्थिति गराउन सकिने जनाइएको छ । विवाहमा दाइजो निषेध गरिएको छ । 

धाम समितिका कोषाध्यक्ष जोशीले विवाहका लागि इच्छुक जोडीका अभिभावकहरूले पालिकाले २० वर्ष उमेर पूरा भएको खुल्नेगरी दिएको सिफारिस पत्रसहित नेपाली नागरिकता वा जन्म दर्ताको प्रतिलिपि र पासपोर्ट साइजको दुईप्रति तस्बिरसहित धाममा सम्पर्क गर्नुपर्ने र धामले तोकेको फाराम भर्नुपर्ने बताए । “सामाजिक दायित्व पूरा गरी राम्रो कार्य गरौँ भन्ने उद्देश्यले सामूहिक विवाहको आयोजना गरिएको हो,” उनले भने, “धाम समितिले अर्को वर्षदेखि १०८ जोडीको सामूहिक विवाह गर्ने लक्ष्य लिएको छ ।” 

सामूहिक विवाहको आयोजनासम्बन्धी जानकारी पाएर केही जोडीले धाममा नाम टिपाइसकेको उनले बताए । प्रत्येक विवाहका लागि चाहिने मण्डप र पण्डित छुट्टाछुट्टै व्यवस्था गरिने भएको छ । आयोजकले तोकेको समयमा विवाहका लागि धामसम्म जान र घर फर्किन लाग्ने खर्च वरवधु पक्षले नै व्यहोर्नुपर्ने जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर