२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

पिप्ले-भगवती खानेपानी योजना नौ वर्षपछि कार्यान्वयनमा

Nada
२०८१ फागुन ११ गते ११:३५
Shares
पिप्ले-भगवती खानेपानी योजना नौ वर्षपछि कार्यान्वयनमा

म्याग्दी : रघुगंगा गाउँपालिका-२ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित बृहत् पिप्ले-भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश हुन थालेको नौ वर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

ncell

आर्थिक वर्ष २०७३/७४ देखि संघीय सरकारको वार्षिक कार्यक्रम मा समावेश हुन थालेको यस योजनालाई खानेपानी मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालु आव २०८१/८२ मा बहुवर्षीय ठेक्का लगाउन स्रोत सहमति दिएपछि कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो । 

सांसद खमबहादुर गर्बुजा (खम्बिर)ले चालु आवमा रु. ५० लाख बजेट विनियोजन भएको बृहत् पिप्ले–भगवती खानेपानी योजनाका लागि अर्थ मन्त्रालयले रु. १० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाउन सहमति दिएको जानकारी दिए ।

“म्याग्दीको बहुप्रतिक्षित पिप्ले-भगवती खानेपानी आयोजनालाई अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्का आह्वानको तयारी गरेको छ”, उनले भने, “गत वर्ष रु. ३७ करोडको स्रोत सुनिश्चतता भएपछि पिप्ले-भगवतीसँगै वार्षिक कार्यक्रममा समावेश हुँदै आएको बेनी नगरपालिकाको चार र रघुगंगा गाउँपालिकाको दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुने बृहत् घोप्टे खोला खानेपानी आयोजनाको ठेक्का सम्झौता भई काम सुरु भएको छ ।”

पछिल्लो पटक सन् २०२२ मा भएको सर्वेक्षणअनुसार रु. ३७ करोड ३७ लाख लागत अनुमान गरिएको पिप्ले-भगवती खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत र बहुवर्षीय ठेक्का आह्वान गर्न अर्थ मन्त्रालयले स्रोत सहमति नदिँदा कार्यान्वयन हुन सकेको थिएन ।

चारवटा प्याकेजमा विभाजन गरेर यस वर्ष रु. दश करोड बजेट बराबरको काम गर्न ठेक्का आह्वानका लागि प्रक्रिया अघि बढाएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सुनम थापाले बताए । बाँकी तीनवटा प्याकेजको ठेक्का लगाउन आगामी वर्ष बजेट व्यवस्थापनका लागि जनप्रतिनिधि र खानेपानी विभागमार्फत प्रस्ताव गरिने उनले बताए । 

रघुगंगा गाउँपालिका–७ चिमखोला भएर बग्ने बगरखोलाको मुहान मानिने खाली खोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा रहने मुख्य ट्याङकीसम्म पानी ल्याउन ३० किलोमिटर लामो मुख्य पाइप लाइन रहने प्रस्ताव गरिएको छ । योजनामार्फत दुई हजार चार सय १६ घरपरिवार लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका इन्जिनियर नवीन सुवेदीले बताए ।

संघीय सरकारको ९० र उपभोक्ताको दश प्रतिशत लागत साझेदारीमा आयोजना निर्माण हुन लागेको हो । उपभोक्ताको तर्फबाट सहभागिता जनाउन आवश्यक पर्ने रु. १० लाख बजेटको व्यवस्था गरेर खातामा जम्मा गरिसकेको रघुगंगा गाउँपालिका-२ भगवतीका वडाध्यक्ष अमृत भण्डारीले बताए ।

पिप्ले र भगवती म्याग्दीको बढी जनघनत्व भएको बस्ती हुन् । पुराना खानेपानीको मुहान सुक्दै जाने र उपभोक्ताको सङ्ख्या बढ्दा खानेपानीको समस्या छ । चिम खोलाबाट ल्याएको पानीलाई अहिले भएका ट्यांकी र पाइप लाइनमार्फत घरघरका धारामा वितरणको व्यवस्था मिलाइने वडाध्यक्ष भण्डारीले बताए ।

ताजा खबर

सम्बन्धित खबर