२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

कविता : आफैंलाई पकाउने अभ्यासमा 

Nada
२०८१ फागुन १० गते ०६:०५
Shares
कविता : आफैंलाई पकाउने अभ्यासमा 

-भैरवी भूगोल

ncell

हातमा आगो बोकेर पनि
आफैंलाई पकाउन
नसकिरहेकी म ।

कहिले 
विचारको हिटर तताउँछु
कहिले
सिद्धान्तको दाउरा सल्काउँछु
कहिले 
व्यवहारको डम्फु बजाउँछु
तर पनि
आफूलाई उस्तै 
काँचो काँचो 
अनुभूत गरिरहन्छु ।

पाक्ने रहरमै भएका छन्
कैयौं प्रशिक्षणमूलक यात्राहरू
उत्तीर्ण गरेको छु
जीवनका कठिन परीक्षाहरू
पार लगाएको छु
निस्सासिँदा कालखण्डहरू
एक्लै छिचोलेको छु
अत्यासलाग्दा भूगोलहरू ।

तर पनि 
खै किन हो आफूलाई 
उस्तै काँचो काँचो 
अनुभूत गरिरहन्छु म ।

अब
ठीक यतिबेला 
आफैंलाई पकाउने 
अन्तिम अभ्यासमा 
जोड्न खोज्दै छु
केही झिँजामीजाहरू
जम्मा गर्दै छु
नबिक्ने प्रमाणपत्रहरू
सुमसुम्याउँदै छु
एक थान नागरिकता
र,
चुनौती दिँदै छु
मेरो हातमा बोकिएर पनि
मलाई नै पकाउन नसक्ने 
लाछी आगोलाई ।

सूर्यविनायक, भक्तपुर ।

ताजा खबर

सम्बन्धित खबर