२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार, आयात र निर्यात बढ्यो

Nada
२०८१ पुष ७ गते १८:१६
Shares
सुधारोन्मुख अवस्थामा वैदेशिक व्यापार, आयात र निर्यात बढ्यो

काठमाडौंः लामो समयसम्म नकारात्मक अवस्थामा देखिएको वैदेशिक व्यापार विस्तारै सुधारोन्मुख हुन थालेको छ । भन्सार विभागद्वारा आज सार्वजनिक चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कमा वैदेशिक व्यापारमा सुधार देखिएको हो । 

ncell

उक्त तथ्याङ्कअनुसार यो अवधिमा आयात तीन प्रतिशत र निर्यात १६ दशमलव पाँच प्रतिशतले बढेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा रु छ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको वस्तु आयात भएको छ । गत आवको सुरुआती पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन प्रतिशतले बढेको हो ।

गत आवको पहिलो पाँच महिनामा नेपालले रु ६३ अर्ब २० करोड ७४ लाख बराबरको वस्तु निर्यात गरेकामा चालु आवको सोही अवधिमा निर्यात १६ दशमलव ५४ प्रतिशतले बढेर रु ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार पुगेको छ । आयात, निर्यात बढेसँगै मुलुकको व्यापार घाटा पनि बढेको छ । 

मङ्सिर मसान्तसम्ममा कुल रु सात खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार बराबरको वैदेशिक व्यापार हुँदा नेपालले रु पाँच खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख घाटा व्यहोरेको छ । गत आवको पहिलो पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा चार दशमलव २१ प्रतिशतले बढेको हो ।

मङ्सिर मसान्तसम्ममा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा रु ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार बराबरको डिजेल, रु २६ अर्ब ४५ करोड ४३ लाख बराबरको पेट्रोल र रु २४ अर्ब २२ करोड ९१ लाख बराबरको एलपी ग्यास आयात भएको छ । त्यस्तै, रु २० अर्ब ९६ करोड बराबरको फलामजन्य वस्तु र रु १० अर्ब ३५ करोड ६१ लाख बराबरको स्मार्टफोन आयात भएको छ ।

सबैभन्दा बढी निर्यात भएका वस्तुमा भटमास तेल, कार्पेट, अलैँची, सूर्यमुखी तेल, चियालगायत वस्तु छन् । पाँच महिनामा रु आठ अर्ब ३६ करोड ८५ लाख बराबरको भटमास तेल, रु चार अर्ब ९६ करोड ३३ लाख बराबरको कार्पेट, रु तीन अर्ब ४५ करोड ७२ लाख बराबरको अलैँची, रु दुई अर्ब ९७ करोड ६१ लाख बराबरको सूर्यमुखी तेल र रु दुई अर्ब ७१ करोड २६ लाख बराबरको चिया निर्यात भएको भन्सार विभागद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।

ताजा खबर

सम्बन्धित खबर