२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

अदालतको आदेश उल्लंघन गर्दै लहानमा वडा कार्यालय निर्माण गरिँदै, स्थानीयको विरोध

Nada
प्रदिप सिंह
२०८१ पुष ४ गते १४:४५
Shares
अदालतको आदेश उल्लंघन गर्दै लहानमा वडा कार्यालय निर्माण गरिँदै, स्थानीयको विरोध

सिरहा : लहान नगरपालिका वडा नं. २ मा अदालतको आदेश उल्लंघन गर्दै वडा कार्यालय निर्माण कार्य अघि बढाइएपछि स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीय भुपेन्द्रप्रसाद यादवको नाममा रहेको कित्ता नम्बर ९१० को निजी जग्गामा विवादास्पद रूपमा निर्माण कार्य थालिएको भन्दै स्थानीयहरूले विरोध जनाएका छन् ।

ncell

यसअघि, जिल्ला अदालत सिरहाले उक्त जग्गामा कुनै पनि संरचना निर्माण नगर्न भन्दै यादवको पक्षमा फैसला गरेको थियो । तर वडा अध्यक्ष शिया राम यादवले अदालतको आदेशको अवज्ञा गर्दै निर्माण कार्य जारी राखेको स्थानीयहरूको आरोप छ ।

स्वास्थ्य चौकी निर्माणका लागि २२५ कित्ता नम्बरको सार्वजनिक जग्गा देखाइएको भए पनि वास्तविक रूपमा यादवको निजी सम्पत्ति उपयोग गरिएकाले विवाद उत्पन्न भएको हो । स्थानीय बिन्देश्वर महतो भन्छन्, 'सरकारी प्रयोजनका लागि सार्वजनिक जग्गा उपयोग गर्नुपर्नेमा, निजी सम्पत्तिमा संरचना निर्माण गर्नु गलत हो ।'

स्थानीयले निर्माण कार्य तुरुन्त रोक्न माग गर्दै लहान नगरपालिकामा सामूहिक निवेदन दर्ता गराएका छन् । साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको हस्ताक्षरसहित प्रेस विज्ञप्ति वडा कार्यालयमा बुझाए पनि कुनै पहल नभएको स्थानीयहरूको भनाइ छ ।

वडा अध्यक्षले स्थानीयको भावना र अदालतको आदेश दुवैको बेवास्ता गरेर मनोमानी गरेको स्थनीयहरूको भनाइ छ । यदि तुरुन्त निर्माण कार्य नरोकिए आन्दोलन चर्काउन बाध्य हुने उनीहरू बताउँछन् ।

उच्च अदालत जनकपुर, राजविराज इजलासले निर्माण कार्य रोक्न उत्प्रेषण निषेधाज्ञा जारी गरिसकेको छ । तर वडा कार्यालयको निर्माण कार्य नरोकिनुले प्रशासनिक कमजोरी र स्थानीय सरकारप्रतिको अविश्वास झल्काएको स्थनीयहरु बताउँछन् । विवादका विषयमा वडा अध्यक्ष शिया राम यादवसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

ताजा खबर

सम्बन्धित खबर