पाटन : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
आगलागी निभाउने क्रममा घाइते भएका दुईजनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएकामा एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी गराए ।
आगो निभाउने क्रममा घाइते भएका शंकर पहरी र रमेश पहरीलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये शंकर पहरीको मृत्यु भएको उनले बताए । ललितपुरको गोदावरीस्थित लेले जंगलमा तीन-चार दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ ।
आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेको छ । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको छ । ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको सुवेदीको भनाइ छ । यस्तै, डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको छ ।
काठमाडौं - नेपाल चेम्बर अफ कमर्सले १ सय ३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ । मे १ अथार्त अन्तराष्ट्रिय मजदुर दिवसको सन्र्दभमा शुभकामना सन्देश मार्फत चेम्बरले सम्पुर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ ।
श्रमिक बर्गको सुरक्षा, लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । नेपालको संविधान २०७२ ले श्रम सम्वन्धी हकलाई पनि मौलिक हकका रुपमा व्याख्या गरेको भन्दै चेम्बरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । श्रम सम्बन्धी ऐन नियमहरुमा समय सापेक्ष सुधार र संशोधन गर्नुपर्ने भन्दै चेम्बरले रोजगारदाता र श्रमिकबीचको पारस्परिक सम्वन्धले नै उत्पादन र उत्पादकत्व बढ्ने एवं समग्रमा दिगो आर्थिक विकास गर्न सकिने उल्लेख गरेको छ ।
चेम्बरले श्रमिकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन समेत सरकारसंग माग गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ स्वस्थ्य सेवामा श्रमिको पँहुच सहज बनाउनका लागि विशेष पहल हुन जुरुरी छ, ।’
सरकार, निजी क्षेत्र र श्रमिक बर्गको संयुक्त पहलबाट मात्रै मुुलुकमा लगानीमैत्री वातावरण निर्माण, रोजगारी सिर्जना एवं उत्पादन वृद्धि मार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने चेम्बरले जनाएको छ ।
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौंमा वायु प्रदूषणक अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरे । विश्वभरिको वायुप्रदूषणको अवस्था मापन गर्ने ‘वर्ल्ड एयर क्वालिटी इन्डेक्स–र्याङकिङ’ अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ ।
“वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधि नपुग्दै बच्चा जन्मने जोखिमसमेत हुन्छ,” प्रवक्ता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा वायु प्रदुषणबाट वर्षेनी हुने मृत्युमा बढीजसो पाँचवर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा बढी छन् । यसले नेपालीको औसत आयु चार दशमलव एक प्रतिशतले घटाएको तथ्यांक छ ।
नेपालमा रूग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदूषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको प्रवक्ता बुढाथोकी बताउँछन् । गर्मी समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडहुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा सेवन गर्न गराउनु हुन मन्त्रालयले अनुरोध गरेको छ । गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको मन्त्रालयले जनाएको छ ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको सिमकोट गाउँपालिकाले झण्डै साढे दुई वर्षअघि खरिद गरेको गाडी सदरमुकाम सिमकाेट आइपुगेको छ । गाउँपालिकाले खरिद गरेकाे गाडी पटक-पटक ल्याउन खाेजेपनि सदरमुकाम सिमकाेट सडकमार्गसँग नजाेडिएकाे र छिमेकी देश चीनबाट ल्याउँदा ७ देखि १६ लाख रुपैयाँसम्म खर्च लाग्ने तथा अर्को देश पार गरेर ल्याउनु पर्दा धेरै प्रक्रिया पुर्याउनुपर्ने हुँदा गाडी ल्याउन सकेको थिएन ।
अहिले भने कर्णाली करिडाेर केहीरुपमा विस्तार भएपछि मंगलबार गाडी ल्याइएको गाउँपालिकाले जनाएको छ । कर्णाली करिडाेर सदरमुकाम सिमकाेटदेखि ३४ काेष टाढा सर्केगाड गाउँपालिकासम्म मात्र सडक जाेडिएकाे छ । तर नेपाली सेनाले जिम्मा लिएको खार्पुनाथ र सर्केगाड गाउँपालिकाकाे सिमाना स्यातडी खण्डकाे सडक निर्माण कार्य पूरा नभएपनि ट्र्याक खाेलेकाे हुँदा गाडी ल्याउन सफल भएको गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाको गाडी चालक जोर बोहरासहित वडा नं. ४ का वडाध्यक्ष प्रताप लामा र स्थानीय गोरासिंह बोहरा गरी तीन जना गाडीमा नेपालगञ्ज, सुर्खेत हुँद सिमकोट आइपुगेका हुन् ।
छारे सडकखण्डको भीर छिचोल्न थोरै मात्रै बाँकी रहेपनि गाउँपालिकाको गाडी भएको हुनाले नेपाली सेनाले त्यस खण्डबाट आउन दिएको चालक बोहराले बताए । उक्त सडकखण्ड नेपाली सेनाले काम सम्पन्न नगर्दासम्म अन्य कुनैपनि गाडीलाई आवतजावत गर्न दिइने छैन । तर केही दिनअघि मात्रै दुई वटा ठूला टिप्पर सोही सडकखण्ड भएर सिमकोट पुगेका थिए ।
गाडी खार्पुनाथकाे खार्पु खण्डमा पुल नहुँदा कर्णाली तारेर ल्याउनु परेकाे हाे । उक्त सडकखण्ड नेपाली सेनाले असार १५ गतेपछि मात्रै हस्तान्तरण गर्नुका साथै अन्य सवारी साधनलाई आवतजावत गर्न दिने भएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयकाे गाडी पनि सर्केगाड पुगेकाे र त्यसयताको सडकखण्डमा सेनाले काम गरिरहेकाे हुँदा अब दुई-चार दिनमा सेनालाई आग्रह गरेर गाडी सदरमुकाम ल्याउने तयारी रहेकाे प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए ।
ललितपुर : ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय शंकर पहरी र रमेश पहरी रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको छ भने घाइते एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
ललितपुरको गोदावरीस्थित लेले जंगलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा पनि डढेलो फैलिँदा कुष्ठरोग अस्पतालका बिरामीहरुलाई अन्यत्र सारिएको छ ।
डढेलो फैलिएपछि अस्पताल पनि जोखिममा परेकाले त्यहाँ रहेका ९३ जना बिरामी सारिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
वासिङ्टन,डिसी : उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा सफलता प्राप्त गरेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औं बैठकलाई आज न्युयोर्कमा सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर तदनुरुप काम भइरहेको बताए । तीन दशक अगाडि कायरोमा सम्पन्न जनसंख्या तथा विकास आयोगको बैठकमा उपस्थित एक सय ७९ देशले स्वीकृत गरेका कार्यक्रम कार्यान्वयनलाई सरकारले प्राथमिकता दिएको उनले बताए ।
मन्त्री यादवले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न हरसम्भव प्रयत्न भएको जानकारी दिए । उनले भने, “नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैङ्गिक समानता, मानवअधिकारजस्ता मौलिक अधिकारलाई सुनिश्चित गरेको छ । आफ्ना नागरिकको जीवनस्तर उठाउन नीतिगत व्यवस्थाका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै आएको छ ।”
युवा जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउँदै मन्त्री यादवले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यवसाय, क्षमता अभिवृद्धिका लागि बाह्य लगानी अपरिहार्य भएकामा जोड दिए । उनले नयाँ जनसंख्या नीति निकट भविष्यमा सार्वजनिक गर्ने जानकारी दिए । उनले जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिप्रति चिन्ता व्यक्त गरे ।
उपप्रधानमन्त्री यादव नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादर थापालगायत सहभागी थिए ।
शिव विक/मध्यान्ह
काठमाडौं : एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय विरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रीट खारेज भएको छ ।
रीटकर्ता पाण्डेले अधिकारीको पक्षमा बहुमत नरहेकाले स्वतः संविधानको धारा १६८(३) अनुरूप मुख्यमन्त्री नियुक्तिको आदेश मागेकोमा सर्वोेच्च अदालतले दाबी नपुग्ने फैसला गर्दै रीट खारेज गरेको हो ।
पाण्डेको रीट खारेज गर्दै सर्वोच्च अदालतले प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टको भूमिकामाथि टिप्पणी गरेको छ ।
सभामुखसमेतको हस्ताक्षरमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त गरेको भन्दै कांग्रेस संसदीय दलका नेता पाण्डेले चैत २७ मा रीट दायर गरेका थिए ।
उनको रीटमा वैशाख २८ गते सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशबाट अधिकारीको सरकार काम चलाउ भएको थियो । तर, सोमबार न्यायाधीशद्वय सपनाप्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासले पाण्डेको रिटसँगै अन्तरिम आदेश पनि खारेज गरिदिएको हो ।
सभामुखको गणना नगर्दा समेत अधिकारीको पक्षमा बहुमत पुग्ने ब्याख्या अदालतले गरेको छ । ‘सभामुखलाई गणना नगर्दा पनि दलहरुको समर्थनमा माननीय खगराज अधिकारीको बहुमत प्राप्त गर्न सक्ने दाबी समर्थित देखिन्छ’ सर्वोच्चको फैसलामा भनिएको छ ।
तर, प्रदेश प्रमुखको भूमिककका स्वभाविक नरहेको अदालतको टिप्पणी छ । प्रदेश प्रमुखले हतास मानसिकता देखाएर हतारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै आफूले दिएको समयसीमा नकुर्नुलाई सूचनाकै पवित्रताको मर्यादा नराखेको न्यायिक टिप्पणी भएको हो ।
सरकार गठनका लागि दाबी पेश गर्न दिएको समय बाँकी छँदै अधिकारीलाई नियुक्ति दिने प्रदेश प्रमुखको कदमबारे अदालतले टिप्पणी गरेको हो ।
तत्कालीन मुख्यमन्त्री पाण्डेले राजीनामा दिएपछि प्रमुख प्रमुख भट्टले २७ चैत ३ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका थिए । एमाले संसदीय दलका नेता अधिकारीले एमालेका २२, माओवादीका ८ (सभामुखसहित) र एक स्वतन्त्र सांसदको समर्थनमा २५ चैतमा दाबी पेश गरे ।
प्रदेश प्रमुख भट्टले त्यही दिन अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
प्रदेश प्रमुखले आफूले दिएको समयसम्म पनि दाबी यो वा त्यो रुपमा दिनसक्ने विकल्प नकुरेको भन्दै आदेशमा भनिएको छ, ‘आफूले दिएको समय तालिकालाई आफैं नमान्नु वा समय अघि नै निष्कर्षमा पुग्नु सूचनाको पवित्रताको मर्यादासम्म नराखी हतास मानसिकताबाट निष्कर्षमा पुग्न खोजेको देखिन्छ ।’
प्रदेश प्रमुखको भूमिका हतास देखिएता पनि अधिकारीको पक्षमा बहुमत देखिएको अदालतको फैसला छ । समयसीमाको पालना स्वभाविक र सामान्य अपेक्षा भएको सर्वोच्चले स्मरण गराएको छ । प्रदेश प्रमुख सदवै सजग र सचेत रहनुपर्ने पनि फैसलामा उल्लेख गरिएको छ ।
काठमाडौं : सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइनले प्रकाशित गरेको समाचारलाई अदालतको अवहेलनामा कारबाही गर्नुपर्ने वा नपर्नेबारे सबुद प्रमाणसहित यही वैशाख २० गते अदालतमा बयानका लागि उपस्थिति हुन आदेश गरेको छ ।
न्यायाधीशद्वय नहकुुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार सिधाकुरा डटकम नामक अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई अदालतको अवहेलना मुद्दामा सबुदसहित इजलासमा बयानका लागि उपस्थित हुने भनेको हो ।
यही वैशाख १४ वैशाखमा चार सयभन्दा बढी भ्रष्टाचारका मुद्दा ‘डिसमिस’ गराउन सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको ‘स्टिङ अपरेसन’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘यो आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र हटाउन र यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनः प्रसारणलगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नू/नगराउनू ।’
अदालतले हटाउन आदेश गरेका कुनै पनि सामग्री प्रसारण नगर्न सञ्चारजगतको ध्यानाकर्षण गराउँदै सो कार्यान्वयनका लागि प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई लेखी पठाउनका साथ अदालतका रजिष्ट्रारले समेत सार्वजनिक सूचना जारी गर्न भनिएको छ ।
अदालतले उक्त श्रव्य दृश्य सामग्रीमा उठाइएको विषयवस्तुको सत्यतथ्य र प्राविधिक पक्षको विस्तृत अनुसन्धान हुनुपर्ने देखिएको ठहर गरेको छ । ‘सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लंघन गरेको देखिएमा कानुनबमोजिम कारबाहीसमेत अगाडि बढाउनू’, आदेशमा भनिएको छ, ‘प्रतिवेदनसहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत यस अदालतमा पेस गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने ।’
सर्वोच्च अदालत प्रशासनले उक्त अनलाइनका प्रकाशक कँडेल र कार्यकारी सम्पादक ढुंगानालाई अदालतको अवहेलनामा हदैसम्म कारबाही गर्न माग गर्दै अदालतलका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले प्रतिवेदन तयार गरी आइतबार इजलासमा पेस गरेका थिए । अदालतको अवहेलनामा न्याय प्रशासन ऐन २०७३ को दफा १७ को ४ अनुसार एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
सुर्य प्रसाद भुसाल/मध्यान्ह
अर्घाखाँची : अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १२ का रेसमराज बन्जाडेलाई १५ वर्ष पहिला गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको सम्झना ताजै छ । तर आजभोली त्यो कुवा पूर्ण रुपमा सुख्खा छ । घट्दै जाँदा अहिले एक थोपा पानी कुवामा छैन ।
बढ्दो जलवायु परिवर्तन, वनजंगल विनास र मानविय क्रियाकलापकै कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको अनुमान सहजै गर्न सकिन्छ । अर्घाखाँचीका कतिपय खोलाहरु त मुहान सुकेर सुख्खा बनिसकेका छन् । जहाँ अहिले कमिलाको लर्को हिँड्ने गर्छन् । अत्यधिक गर्मीका कारण मुहानहरु सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या दिन प्रतिदिन बढ्दै गएको स्थानीयबासिहरु बताउँछन् ।
अर्घाखाँचीका धेरै ठाउँमा अहिले पनि खानेपानीको प्रयाप्त सुविधा नभएको र यहाँका विभिन्न क्षेत्रमा रहेका दर्जनौं बस्तीहरुमा घरमा धारा पुगेपनि पानीको समस्या छ, भने कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग धेरैले गर्छन् । वर्षौदेखि खानेपानी उपभोग गर्दै आएका पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्ककै गएको सितगंगा १४ का स्थानीय समाजसेवी दिपक कार्की बताउँछन् ।
अर्घाखाँचीमा १० महिना अर्थात् साउनदेखि आकेसे पानी पनि परेको छैन् । पानी नपरेको कारण अधिकांश ठाउँमा मुहान सुक्न थालेपछि स्थानीयबासीहरू पानीका लागि घण्टौ टाढाका पुराना पानीका मुहान धाउन शुरु गरेका छन् । अधिकांश बस्तीमा कुवा र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीय खानेपानीको मुहान सुक्दै गएपछि निकै चिन्तित बन्दै गएको भूमिकास्थान नगरपालिका वडा नं. १ का सन्जय वि.क बताउँछन् ।
विगतका वर्षहरुमा गर्मीयाममा खानेपानीको समस्या खासै नहुने भएपनि अहिले भने लामो खडेरी परेकाले खानेपानीले काकाकुल बन्नुपर्ने अवस्था आउन सक्ने सम्भावना छ ।
पाणिनी गाउँपालिका वडा नम्बर १ का नारायण पोख्रेलले भने ‘विगतका वर्ष वैशाख जेठमा घट्टा, कुला चल्ने खोलामा अहिले फागुनदेखि नै पानी भेटिदैन ।’ मुहान संरक्षण नहुँदा पानीका स्रोत हराउँदै गएको पोख्रेलको तर्क छ ।
धेरै ठाउँमा मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र होइन् । मानविय क्रियाकलाप बढी जिम्मेवार देखिएको छ । दिनप्रतिदिन वनजंगल विनास, विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर परेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीका प्राविधिक गोविन्द आचर्यले बताए । डोजरले सडक खन्दा पनि जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेको स्थानीयबासीहरु बताउँछन् ।
विकासको नाममा स्थानीय तहहरुले डोजर आतंक मच्चाएका छन् । सडक खन्ने नाममा प्राविधिक रिपोर्ट र वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन् ।
‘मेसिनले धर्ति नै चिरेका छन्,’ ढिकुरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेले भने, ‘जहाँ हेरपनि सडक मात्रै खनेको देखिन्छ । खानेपानीको संरक्षण छैन । किन नसुकुन मुहान ?’ घिमिरेले थपे ‘जताततै आगलागी भएको छ, यस्तो गर्मीमा डढेलोका कारण पनि पानिका मुहान सुक्ने गरेका छन ।’
जिल्लाका अधिकांश स्थानीय तहले डोजर, स्काभेटर खरिद गरेका छैनन् तर ठेक्का निकाल्दा स्थानीय तहले पनि मेसिनले सडक खन्ने स्टमेट राखेकोले पानीका मुहान सुक्नुका साथै मजदुरी गरेर गुजारा गर्दै आएका सर्वसाधारण मारमा परेका छन् । जहाँ पानीका मूल र वन क्षेत्र छ त्यही सडक पु¥याइएको छ ।
यही गतिले सडक निर्माण गर्ने हो भने केही वर्षमा भू–क्षयको प्रवल सम्भावना रहेको सितगंगाका युवा हिम्मत पोख्रेलले बताए । गाउँमा राजनीतिक दलहरुले बजेट पार्ने र आ–आफ्नै तरिकाले सडक खनाउने गर्छन् । एक पार्टीले सुरुवात गरेको सडक त्यो त फलानो पार्टीको हो भन्दै सकेसम्म अर्को ट्रयाक खोल्नेसम्मको काम गाउँमा हुने गरेको भूमिकास्थानका युवा कृष्णबहादुर सोमैले बताए ।
जिल्लाका अधिकांश गाउँमा खानेपानीका आयोजना पुराना भएका छन् भने भएका योजना पनि मर्मत सम्भार र सरकारले बजेट नदिँदा सुकेर फुट्ने जीर्ण हुने अवस्थामा छन् ।
पूराना जीर्ण आयोजना मर्मत सम्भार र संरक्षणको अभावमा प्रयाप्त पानी नआउने गरेको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का स्थानीयबासी सन्तोष भुसालले बताए । अधिकांश विद्यालयमा समेत पानी छैन । डाँडामा रहेका विद्यालय नजिक पानीका मुहान नहुँदा बालबालिका घरबाटै बोकेर पानी लैजानुपर्ने बाध्यता रहेको स्थानीयबासीहरु बताउँछन् ।
शिक्षाका लागि खाजा कार्यक्रम लागू भएका अर्घाखाँचीका अधिकांश आधारभूत तह (कक्षा ५) सम्मका विद्यालयहरुमा खाजा विद्यालयमा नै पकाउने गरिन्छ । पानी नभएका विद्यालयमा समस्या हुने गरेको शितगंगा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष चोपबहादुर घर्तीले बताए । घर्तिले स–साना बालबालिकाहरुलाई घरबाट आफै बोकेर पानी ल्याउँदा सास्ती हुने गरेको उनको भनाइ छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अर्घाखाँचीको तथ्यांक अनुसार जिल्लामा १ घर १ धारा अन्तर्गत मिटर सिस्टमबाट पानीको पहुँच पुगेको ३५ दशमलव ५० घरमा पानीको पहुँच पुगेको र अर्घाखाँचीमा खानेपानी संघीय कार्यालय स्थानीय तह केही संघ संस्थाले समेत खानेपानीको काम गर्ने भएको कारण एकिन डाटा प्राप्त हुन नसकेपनि झण्डै ७५ दसमलब ५० प्रतिशत घरमा खानेपानीको पहुँच भएपनि अधिकांश घरमा प्रयाप्त खानेपानी पुग्दैन ।
खानेपानी योजना मर्मत, नयाँ योजना निर्माणको लागि बर्सेनी लाखौं रुपैयाँ खर्च आउने गरेपनि यो वर्ष खानेपानीको मर्मत सम्भारमा न्यून बजेट भएको कारण समस्या उत्पन्न छ ।
खानेपानीको क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले काम गर्दै आएका छन् । उनीहरूले बनाएका योजना तीन, चार वर्षमा बिग्रने गरेका छन्, तर मर्मतका लागि पैसा नभएको कारण समस्या उत्पन्न हुने गरेको छ । स्थानीय तहले पनि खानेपानीमा प्रयाप्त बजेट खर्चेको बताए पनि लागत अनुसार काम देखिएको छैन । अर्घाखाँचीमा बजेट अभावकै कारण झण्डै १ सय ५२ वटा प्रदेश र संघीय खानेपानी योजनाहरु अलपत्र परेका छन् । अर्घाखाँची जिल्लाबाट लुम्बिनी प्रदेशको अर्थमन्त्री बनेका चेतनारायण आचर्यले बजेट अभावका कारण योजना अलपत्र पर्न नदिने छिटोभन्दा छिटो बजेट व्यवस्थापन गरी योजना सम्पन्न गर्ने मध्यान्हसँग बताए ।
ओबराज शाही/मध्यान्ह
हुम्ला : ताक्लाकोट काम गर्न गएका हुम्लीले काम नपाउँदा घर फर्किन थालेका छन् । जिल्लासँग जोडिएको हिल्सा नाका खुले लगत्तै ठूलो संख्यामा हुम्लीबासी तालक्लाकोटको पुराङ काउन्ट्री कामको खोजीमा जाने गर्दछन् । तर यस पटक काम नपाउँदा खाली हात फर्किनु परेको सिमकोट ७ का राम राज शाहीले बताए ।
स्थानीय शाही आफ्नो देशमा बेरोजगार युवा, युवतीलाई कुनै रोजगारको सिर्जना नहुँदा बाध्य भएर विदेशीभूमि गएपनि काम नपाउँदा खाली हात घर फर्किनु परेको दुःख सुनाए ।
वैशाख ३ गते चीनको पुराङ गएका बुद्धिराम शाहीले भने,‘ताक्लाकोटमा हुम्लीबासीले काम नपाउँदा बिजोक अवस्थामा पुगेका छन् । दिनभर कामको खोजीमा भौतारिनुपर्छ । काम पाइँदैन, काम भएपनि भाषा नबुझ्ने हुँदा काम खोज्न गाह्रो हुन्छ ।’
हिल्सा नाका गत वर्षको वैशाख महिना खुलेको भएपनि यो वर्ष गत वर्षभन्दा तेब्बर हुम्लीबासी कामको खोजीमा ताक्लाकोट गएका छन् । वर्षको ६ महिना बर्खामा मात्र हुम्लीहरु कामको खोजीमा जाने गर्दै आएका छन् ।
हिउँदको ६ महिना बोटो बन्द हुन्छ । जेठ माहिनादेखि ताक्लाकोट बेरोजगार युवायुवती कामको खोजीमा जिल्लाका सात वटै स्थानीय तहबाट पाँच सय हाराहारी गएका छन् ।
हुम्लाबाट गएका अधिकांश युवायुवती काम नपाएर भौतारी रहेको खर्पुनाथ गाउँपालिका वडा नं. १ का धान्ने छल्याले बताए ।
उनले भने, ‘काम पाइँदैन् घरबाट खर्चको लागि ल्याएको पैसा खान बस्न पुग्दैन । खानाको नेपाली ६ सय ५० रुपैयाँ एक छाकको तिर्नुपर्छ ।’ बास बस्नको लागि कामदारलाई कोठा नदिने हँुदा ओडारमा बस्दै आएको कामदारहरुको भनाइ छ ।
गत वर्ष एक दिन काम गरेको ४ हजार नेपाली रुपैयाँ पाइन्थ्यो तर अहिले २ हजारमा पनि काम नपाइने सिमकोट ७ का रामलाल शाहीले बताए ।
गत वर्ष हुम्लीको चाप कम थियो काम पाइन्थ्यो । यो वर्षमा हिल्सा नाका खुलेको दुई महिनामै कामभन्दा ठूलो संख्यामा कामदार भएकाले काम नपाइएको उनले बताए ।
नेपालले हरेक जिल्लामा बेरोजगार भएका युवायुवतीलाई रोजगारको दायरामा नल्याउँदासम्म हरेक नेपालीले विदेशमा दुःख पाइने र विदेश जानै पर्ने बाध्यता रहेको देखिन्छ । ताक्लाकोट रोजगारको खोजी र व्यापार व्यवसाय गर्न जाने दैनिक पास बनाउने र नविकरण गर्नेको संख्या जिल्ला प्रशासनमा बढ्दै गएको कार्यालय स्रोतले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies