ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको सिमकोट गाउँपालिकाले झण्डै साढे दुई वर्षअघि खरिद गरेको गाडी सदरमुकाम सिमकाेट आइपुगेको छ । गाउँपालिकाले खरिद गरेकाे गाडी पटक-पटक ल्याउन खाेजेपनि सदरमुकाम सिमकाेट सडकमार्गसँग नजाेडिएकाे र छिमेकी देश चीनबाट ल्याउँदा ७ देखि १६ लाख रुपैयाँसम्म खर्च लाग्ने तथा अर्को देश पार गरेर ल्याउनु पर्दा धेरै प्रक्रिया पुर्याउनुपर्ने हुँदा गाडी ल्याउन सकेको थिएन ।
अहिले भने कर्णाली करिडाेर केहीरुपमा विस्तार भएपछि मंगलबार गाडी ल्याइएको गाउँपालिकाले जनाएको छ । कर्णाली करिडाेर सदरमुकाम सिमकाेटदेखि ३४ काेष टाढा सर्केगाड गाउँपालिकासम्म मात्र सडक जाेडिएकाे छ । तर नेपाली सेनाले जिम्मा लिएको खार्पुनाथ र सर्केगाड गाउँपालिकाकाे सिमाना स्यातडी खण्डकाे सडक निर्माण कार्य पूरा नभएपनि ट्र्याक खाेलेकाे हुँदा गाडी ल्याउन सफल भएको गाउँपालिकाले बताएको छ ।
गाउँपालिकाको गाडी चालक जोर बोहरासहित वडा नं. ४ का वडाध्यक्ष प्रताप लामा र स्थानीय गोरासिंह बोहरा गरी तीन जना गाडीमा नेपालगञ्ज, सुर्खेत हुँद सिमकोट आइपुगेका हुन् ।
छारे सडकखण्डको भीर छिचोल्न थोरै मात्रै बाँकी रहेपनि गाउँपालिकाको गाडी भएको हुनाले नेपाली सेनाले त्यस खण्डबाट आउन दिएको चालक बोहराले बताए । उक्त सडकखण्ड नेपाली सेनाले काम सम्पन्न नगर्दासम्म अन्य कुनैपनि गाडीलाई आवतजावत गर्न दिइने छैन । तर केही दिनअघि मात्रै दुई वटा ठूला टिप्पर सोही सडकखण्ड भएर सिमकोट पुगेका थिए ।
गाडी खार्पुनाथकाे खार्पु खण्डमा पुल नहुँदा कर्णाली तारेर ल्याउनु परेकाे हाे । उक्त सडकखण्ड नेपाली सेनाले असार १५ गतेपछि मात्रै हस्तान्तरण गर्नुका साथै अन्य सवारी साधनलाई आवतजावत गर्न दिने भएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयकाे गाडी पनि सर्केगाड पुगेकाे र त्यसयताको सडकखण्डमा सेनाले काम गरिरहेकाे हुँदा अब दुई-चार दिनमा सेनालाई आग्रह गरेर गाडी सदरमुकाम ल्याउने तयारी रहेकाे प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies