मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : चालु आर्थिक वर्षको १०औं महिना सकिनै लाग्दा सरकारी खातामा लक्ष्यको ५४ दशमलव ७६ प्रतिशत मात्र राजश्व संकलन भएको छ ।
महालेखा परीक्षक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्षको दशौं महिना (बैशाखको १७ गते) सम्म ७ खर्ब ७८ अर्ब ९९ करोड रूपैयाँ मात्र जम्मा भएको छ । चालु आवका लागि सरकारले राखेको राजश्व लक्ष्य १४ खर्ब २२ अर्ब ५४ करोड थियो । यो अवधिमा ऋण, अनुदान र अन्य आम्दानी गरी ८ खर्ब ४ अर्ब ३ करोड रूपैयाँ जम्मा भएको छ ।
यो अवधिमा सरकारले गरेको कूल खर्च भने ९ खर्ब ७५ अर्ब २३ करोड रूपैयाँ छ । यसमध्ये ६ खर्ब ९९ अर्ब ३० करोड रूपैयाँ सरकारको दैनिक प्रशासनिक काममा मात्रै खर्च भएको छ । यसबाहेक पूँजीगत तथा विकास खर्चमा १ खर्ब ३ अर्ब ९२ करोड रूपैयाँ खर्च भएको देखिन्छ । यसैगरी वित्तीय खर्च १ खर्ब ७२ अर्ब रूपैयाँ खर्च भएको देखिन्छ ।
यो तथ्यांक केलाउँदा अहिले सरकारी खाता १ खर्ब ७१ अर्ब २० करोड रूपैयाँ घाटामा छ भने सरकारी आम्दानीको तुलनामा १ खर्ब ९६ अर्ब २४ करोड रूपैयाँ घाटा छ ।
चालु आवको सुरुवातदेखि सरकारी खाता उच्च चापमा थियो । आर्थिक वर्षमा सरकारी आम्दानीको प्रमुख स्रोत भन्सार राजश्व नै उच्च चापमा छ ।
अन्य राजश्व पनि उच्च चाप छ । गैह्र राजस्व (अनुदान ऋण) पनि निकै कम उठेको छ । यसरी लक्ष्य भन्दा निकै कम आम्दानी भएपछि चालु खर्च चलाउनै धौधौ परेको छ । सरकारले संकलन गरेको आम्दानीले दैनिक प्रशासनिक खर्च समेत पुगेको छैन ।
पछिल्ला वर्षमा भन्सार तथ्यांकहरू हेर्दा राजश्वको प्रमुख स्रोत आयातमा त्यति कमी आएको भने देखिदैन । तथ्यांक केलाउँदै अर्थशास्त्री रामेश्वर खनाल थप स्पष्ट पार्छन्, ‘तथ्यांकले हेरौं, कोभिड १९ को समयावधिमा आयात १८ प्रतिशतले आयात घटेको थियो । त्यो बेला राजश्व र कूल ग्राहस्थ्य उत्पादनको अनुपात २२ दशमलव ४ प्रतिशत थियो । त्यसअघि २२ दशमलव ६ प्रतिशत थियो । यो तथ्यांकले कोभिडमा आयात घट्दा राजश्व जम्मा शून्य दशमलव २ प्रतिशतले मात्रै घटेको छ ।’ राजश्व प्रशासनमा ब्यापक चुहावट वा ब्यापक कर छली भएको उनको शंका छ ।
गत आर्थिक वर्षको चैत महिनासम्ममा १२ खर्ब १ अर्ब ५० करोड रूपैयाँ बराबरको आयात भएको छ भने चालू आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रूपैयाँको आयात भएको तथ्यांक छ । यसैगरी अघिल्लो आर्थिक वर्ष २०७८/०७९ ९ महिनामा १४ खर्ब ६६ अर्ब ६६ करोड रूपैयाँको आयात भएको थियो ।
यो तथ्यांकले चालू आर्थिक वर्षको ९ महिनाको आयातभन्दा गत वर्षको सोही अवधिको आयात बढी छ । तर, यो अवधिको राजश्वको तथ्यांक हेर्दा गत आवको भन्दा चालु आवमा राजश्व संकलन बढी भएको छ । यो अवस्थालाई भन्सारकै अधिकारीहरू रहष्यमयी भन्छन् । भरहवा भन्सार कार्यलयका एक अधिकारी भन्छन्, ‘यो निकै रहष्यमयी छ । सजिलै बुझ्न सकिने छैन । के भइरहेको हो हामी पनि छक्क पर्छौं ।’
राजश्व संकलनमा चाप पर्नु निकै रहस्मयी भएको विश्लेषकहरूको तर्क पनि छ । अर्थशास्त्री खनाल भन्छन्, ‘राजश्व सामान्य तरिकाले घटिरहेको देखिदैन । भनिरहेको जस्तो आयात र उत्पादन घटेर मात्रै राजश्वमा गिरावट आएको होइन । यो असामान्य र रहष्यमयी तरिकाले घटेको छ ।’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies