काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम विज्ञ डा. गणेश गुरुङको संयोजकत्वमा गठन गरेको विज्ञहरुको कार्यदलले आफ्मो अध्ययन प्रतिवेदन बुझाउन अझै समय लगाउने भएको छ । शुरुमा दुई महिनामा प्रतिवेदन तयार पार्ने कार्यादेश पाएको कार्यदलले मन्त्रालयलाई प्रतिवेदन बुझाउन अन्य परिस्थिति यथावत रहेमा अझै कम्तिमा एक महिनाभन्दा बढी समय लगाउने छ ।
तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले गत कात्तिकमा श्रम तथा आप्रवासन विज्ञ डा. गुरुङको संयोजकत्वमा राष्ट्रिय प्रवासन नीति र लेवर माइग्रेसनका बारेमा अधययन प्रतिवेदन दिन कार्यादेश दिएका थिए । वर्तमान श्रममन्त्री डोलप्रसाद अर्यालले पनि पुरानै कार्यादेशअनुसार काम गर्न सहमति जनाएर कार्यदल, कार्यदलका संयोजकसहित सदस्यहरुलाई काम जारी राख्न आग्रह गरेका छन् । समितिमा डा. केशव बस्याल, मञ्जु गुरुङ, प्रतिमा शर्मा र जुना माथेमा सदस्य रहेका छन् । श्रम मन्त्रालयको प्रशासन शाखाका उपसचिवलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
समिति संयोजक गुरुङले कार्यादेशअनुसार लेवर माइग्रेसनसम्बन्धी अध्ययन प्रतिवेदन आगामी २०८१ वैशाख ३० गते बुझाउने गरी तीव्रताका साथ काम भइरहेको जानकारी दिए । तर राष्ट्रिय आप्रवासनसम्बन्धी प्रतिवेदन तयार गर्न कार्यदललाई अझै लामो समय लाग्न सक्ने उनले बताए ।
मन्त्रालयले श्रम आप्रवासनका विभिन्न चरणमा गर्नुपर्ने सुधारका लागि प्रतिवेदन दिन लिखित कार्यादेश दिएको थियो । सोहीअनुसार हालसम्म कोशी प्रदेश र मधेश प्रदेशमा कन्सल्टेशन प्रोससका छलफल भएका छन् । कार्यदलले शुरुमा मन्त्रालयले तर्जुमा गरेको हालको वैदेशिक रोजगार नीतिमाथि पुनरावलोकन गरेको छ । काठमाडौंमा पनि एक चरणको मात्रै छलफल भएको छ । कार्यदलले गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, सुदूरपश्चिम प्रदेशको धनगढी तथा कर्णाली प्रदेशमा छलफल गर्न बाँकी रहेको संयोजक गुरुङले मध्यान्हलाई जानकारी दिए ।
संयोजक गुरुङले नेपालको वैदेशिक रोजगार नीतिमा रहेका कमी कमजोरी पहिल्याएपछि त्यसलाई हटाएर रेमिट्यान्सको आप्रवाह साथसाथै नेपाली कामदारको सीपलाई कसरी अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्ने विषयमा अध्ययनलाई केन्द्रित गरिरहेको जानकारी पनि दिए । छलफलमा नेपाली महिला तथा पुरुष दुवै कामदारलाई विश्वको श्रम बजारमा प्रतिस्पर्धी, मर्यादित र सक्षम बनाउन अवलम्बन गर्नुपर्ने नीति र तालिमका साथै अन्य व्यवहारिक पक्षको सुझाव आएका छन् ।
कार्यदलले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम), रिटर्नी कामदारको नेटवर्क, वैदेशिक रोजगार व्यवसायी संघलगायतका संस्थाहरुसँग अन्तरक्रिया गरिरहेको बताइएको छ ।
निवर्तमान मन्त्री भण्डारीको कार्यकालमा जारी भएका जापान, इजरायल र कोरियामा निजी क्षेत्रका म्यानपावर कम्पनीबाट कामदार पठाउने कार्यविधिसहित पूर्वप्रस्थान अभिमुखीकरण तालिमको बढाइएको शुल्कप्रति असहमति जनाएका मन्त्री अर्यालले कार्यदलले दिने प्रतिवेदनमा आउने सुझावपछि मात्रै नयाँ निर्णय गर्ने अडान राखेका छन् ।
प्रतिवेदन आएपछि मात्रै महत्वपूर्ण विषयमा निर्णय गर्ने अडानले तत्कालै परिणाममुखी काम गर्ने मन्त्री अर्यालको हुटहुटी र रापतापसमेत सेलाउने कतिपयले टिप्पणी गरेका छन् । सरकारले नभइ निजी क्षेत्रले मात्रै कामदार पठाउन पाउनुपर्ने मान्यता राख्ने निजी क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरु मन्त्रालयले व्यवसायीको भूमिका खुम्च्याउने गरी गरेका निर्णय तत्कालै परिवर्तन नगरे हालको बेचैनी र छटपटी तनावमा परिणत हुनसक्ने बताउन थालेका छन् ।
भरत प्रधान/मध्यान्ह
लिस्बन : पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक (जीव) खाना खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् ।
दुवै जना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिए । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर भने हालसम्म बेपत्ता रहेको योञ्जनले बताए ।
धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक (जीव) खाना खोज्न समुद्रमा गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको उनले बताए । धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ ।
धनबहादुर र टेकबहादुर सँगै समुद्रमा गएका साथीले दुवै जना समुद्रमा बेपत्ता भएको बताएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले जानकारी दिए । उद्धार टोलीले शनिबार देखि नै विभिन्न माध्यम मार्फत् उनीहरुको खोजी गरेको थियो । बेपत्ता भएका टेकबहादुरको खोजीकार्य जारी रहेको भट्टराईले बताए ।
धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । भने चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए । नाताले काकाभतिज पर्ने दुवै जना मोन्तिजो बस्दै आएका थिए । घटनाको विषयमा नेपालमा रहेका उनीहरुका परिवारलाई जानकारी गराइसकिएको बताइएको छ ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकले एक घण्टाभित्रमा नै श्रम स्वीकृति पाउने सुनिश्चितता गरिएको बताएका छन् । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले विद्युतको आपूर्ति र इन्टरनेटको स्पिडजस्ता प्राविधिक समस्यालाई ध्यानमा राखेर कागजपत्र पुगेको अवस्थामा एक घण्टामा नै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने प्रबन्ध मिलाइएको बताए ।
श्रम स्वीकृतिका लागि श्रमिकले मुख्यगरी पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौता पत्र पेस गर्नुपर्नेछ । त्यस्तै श्रमिकले बीमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क भुक्तानी गरेको हुनुपर्ने व्यवस्था छ ।
मन्त्री अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेण्डमा नै श्रम स्वीकृति प्रदान गर्न सक्ने अवस्था रहेको भन्दै नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको बताए । मन्त्री अर्यालले छिटोभन्दा छिटो श्रम स्वीकृति दिने कामलाई व्यवस्थित बनाउन कर्मचारीहरूको अथक मिहिनेत लागेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन कर्मचारीले उत्तिकै मिहिनेत गर्नुपर्ने बताए ।
एक घण्टामा नै श्रम स्वीकृति प्रदान गर्नका लागि वैदेशिक रोजगार कार्यालयले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०७९ संशोधन गरी एकै तहबाट श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ । यसअघिको व्यवस्थाअनुसार एउटा तहले कागजपत्र प्रमाणीकरण गर्ने र अर्को तहले स्वीकृति गर्ने व्यवस्था थियो । हालको प्रक्रियाले श्रम स्वीकृतिको कामलाई निक्कै नै सहज बनाएको श्रममन्त्री अर्यालले दाबी गरे । हाल दैनिक औसत १ हजार ६ सय जनालाई श्रम स्वीकृति प्रदान गर्ने गरिएको छ ।
श्रममन्त्री अर्यालले दोस्रो पटक मन्त्रालयमा पदभार ग्रहण गरेसँगै श्रम स्वीकृतिको प्रक्रियालाई एक घण्टामा छोट्याउन फेमिसका सफट्वेयर तथा हार्डवेयरका आपूर्तिकर्ता तथा कर्मचारीलाई निर्देशन दिएका थिए । मिटरब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिन आउने श्रमिकलाई तीन–चार दिन लगाएर अल्झाउने कार्य आफूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै उनले हाफ पाइन्ट, टिसर्ट र चप्पल लगाएर आउने श्रमिक कुनै पनि बहानामा ठगिनु नहुनेमा आफ्नो विशेष सरोकार रहेको बताए ।
वैदेशिक रोजगारमा जानेले आफ्नै मोबाइल वा कम्पप्युटरबाट अनलाइन आवेदन दिए श्रम स्वीकृति पनि अनलाइनबाट नै प्राप्त गर्न सक्ने र यसका लागि कुनै शुल्क पनि नलाग्ने, श्रमिकले कार्यालय धाइरहनु नपर्ने मन्त्री अर्यालले बताए । उनले भने, ‘सक्नुहुन्छ भने आफ्नै मोबाइल वा कम्प्युटरबाट आवेदन दिनुहोस् । आवेदन दिने सबै प्रक्रियाको जानकारी विभागको वेबसाइटमा राखिएको छ ।’
विभागले प्रयोगमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा छिटोछिटो समस्या देखिने गरेको छ । मन्त्री अर्यालले फेमिस सफ्टवेयर परामर्शदाताका एक जना प्राविधिकलाई विभागमा डेडिकेटेडरुपमा राखिएको र अन्य कर्मचारीहरुलाई दुई वटा सिफ्टमा परिचालन गरिएकाले तोकिएको समयमा श्रम स्वीकृति दिन कुनै समस्या नरहेको बताए ।
हाल सार्वजनिक बिदा र शनिबारको दिनमा पनि कर्मचारीलाई परिचालन गरिएको छ । अन्य दिन बिहान ७ देखि बेलुका ९ बजेसम्म गरी कर्मचारीले दुई सिफ्टमा काम गर्दे आएका छन् । मन्त्री अर्यालले सुधारका माध्यमबाट आगामी दिनमा कार्यलय समयमा मात्रै कर्मचारीले एकै सिफ्टमा काम गर्ने गरी सुधार गरिने पनि बताए ।
कार्यालयले अहिले कर्मचारीलाई प्रत्येक दिन श्रम स्वीकृतिका लागि निश्चित कोटा तोकेर जिम्मेवारी दिएको छ । काठमाडौं कार्यालय ताहाचलबाहेक ६ वटा प्रदेशबाट पनि नयाँ कम्तिमा ५० वटा र पुनः श्रम स्वीकृतिका लागि एक सय वटा टोकनको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । पहिले कार्यालयले चाहेजति मात्र टोकन पाउने व्यवस्था थियो ।
तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा, कतार : गैरआवासीय नेपाली संघ, कतारले तत्काल कतारमा श्रमिक डेस्क स्थापना गर्न परराष्ट्र मन्त्रालयसमक्ष माग राखेको छ । करिब साढे तीन लाख नेपाली श्रमिक रहेको कतारमा श्रमिक डेस्क स्थापना गरेर सेवा विस्तार गर्न एनआरएनए कतारले माग गरेको हो ।
एनआरएनए कतारका अध्यक्ष रमेश भट्टको नेतृत्वमा आइतबार सिंहदरबारमा भएको भेटवार्तामा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई श्रमिक डेस्क स्थापनाका लागि माग राख्दै श्रमिकहरूको हितमा सेवा गर्न आग्रह गरेको हो । "हामीले एनसीसीको निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न परराष्ट्रमन्त्रीसमक्ष श्रमिक डेस्क राख्नका लागि माग राखेका हौं," मध्यान्हसँग कुरा गर्दै भट्टले भने । एनआरएनएको मागप्रति परराष्ट्रमन्त्री सकारात्मक भएको बताउँदै भट्टले श्रमिकको अधिकारका लागि नेपाल सरकारको सदैव प्राथमिकता रहेको मन्त्रीको भनाइ रहेको बताए ।
एनआरएनए कतारले सामाजिक कार्यका साथै कतारमा रहेका नेपालीहरूको सहयोगका लागि कतार र नेपाल सरकारसँग समन्वय गरिरहेको छ । एनआरएनए कतारले भर्खरै कतार च्यारिटीसँग छलफल गरी नेपालका लागि छुट्टै च्यारिटी बक्स राख्नका लागि गृहकार्य थालेको छ भने आगामी दिनमा समस्यामा परेका नेपालीका लागि सहयोगका लागि फण्डको अभाव हुन नदिने गरी काम गरिरहेको छ । परराष्ट्रमन्त्री श्रेष्ठलाई भेट्नका लागि अध्यक्ष भट्टसहित कतारमा कार्यरत प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीका उपमहासचिव चानक पोखरेल, व्यवसायी शंकर प्रसाद न्यौपाने पुगेका थिए ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गरिने बताएका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले कार्यालय समयभित्र आवश्यक काजगपत्र तथा विवरण अनलाइन प्रविधिमार्फत दर्ता (अपलोड) गरेको एक घण्टाभित्र आफ्नै मोबाइल फोनमा श्रम स्वीकृति प्राप्त गर्न सकिने बताए । वैदेशिक रोजगार कार्यालय ताहाचलले अनलाइनमार्फत दिँदै आएको श्रम स्वीकृतिको सेवालाई छिटोछरितो बनाउँदै एक घण्टाभित्र उपलब्ध गराउन सम्भव भएको उनको भनाइ छ ।
“कोही पनि श्रमिकले आफ्नो सम्पूर्ण कागजपत्र अनलाइन प्रविधिमार्फत विवरण दर्ता गराएको एक घण्टाभित्र श्रम स्वीकृति आफ्नै मोबाइलमा प्राप्त गर्न सक्नुहुनेछ”, मन्त्री अर्यालले भने, “कर्मचारीको लगनशीलता, इमान्दारिता र सम्पर्णको सहयोगले यो कार्य गर्न सम्भव भएको हो ।”
श्रम स्वीकृति लिने काममा अहिले धेरै लामो समय लाग्ने अवस्था नभएको भन्दै मन्त्री अर्यालले कागजात नपुगेको अवस्थामा, दोहोरोपना वा कर्मचारीलाई शंकास्पद लागेको अवस्थामाबाहेक काम सहज रुपमा नै भइरहेको जानकारी दिए । “काम नभएर रोकिएकाको पनि नियमित कामलाई अवरोध नहुने गरी हुनेछ”, उनले भने ।
मन्त्री अर्यालले कम्प्युटरको ‘सफ्टवयर’ मा सुधार गर्दै सहज र प्रभावकारी व्यवस्थापनको काम गरिएको बताए । उनले कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म रहेको भन्दै सो अवधीमा श्रम स्वीकृति लिन सकिने जानकारी दिए । “कार्यालय समयमा सबै काम हुन्छ । जसले पहिलो बुझाउनुहुन्छ उहाँले शुरुमा पाउनुहुन्छ”, उनले भने । रासस
भक्तपुर : वैदेशिक रोजगार व्यवसायीहरूको व्यापक उपस्थितिमा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले भक्तपुरको घ्याम्पेडाँडामा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका अध्यक्ष धनलाल जैसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गणतन्त्रिक मञ्चका इञ्चार्ज, नेकपा माओबादीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामेश्वर राय यादवले मञ्चले आयोजना गरेको वनभोज कार्यक्रमले मनोरञ्जन, आपसमा भाइचारा सम्बन्ध र सद्भाव कायम गर्ने भन्दै आयोजक मञ्चलाई धन्यवाद दिए ।
व्यवसायी एकता र सद्भावका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सद्भाव र शुभकामना दिएको उनले जानकारी दिए । उनले मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगार व्यवसायीले दिएको योगदान राज्यले बिर्सन नहुने बताए । सरकारले रोजगार दिन नसकेका कारण बेरोजगार अवस्थामा रहेका युवायुवतीलाई वैदेशिक रोजगारव्यवसायीले विदेशमा भएपनि रोजगारी उपलब्ध गराएर सरकारलाई ठूलो सहयोग गरेको उनले बताए ।
पूर्वमन्त्री यादवले आफू मन्त्री हुँदा इजाजतपत्र नवीकरणका लागि बाध्यकारी प्रावधानको रूपमा रहेको वार्षिक सय जना कामदार पठाउनुपर्ने बाध्यता हटाएर व्यवसायीको मुहार उज्यालो बनाएको भन्दै जुनसुकै पार्टीमा आस्था राख्ने भएपनि व्यवसायीहरू एकले अर्कोलाई थिचोमिचो नगर्ने र एकले अर्कोलाई सघाउने सोचले काम गर्नुपर्ने सुझाव दिए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले संघले व्यवसायीका समस्या समाधानका लागि काम गरिरहेको भन्दै व्यवसायीका सबै संघसंस्थाबीच आपसी एकता बलियो हुनुपर्ने बताए । मञ्चका अध्यक्ष जैसीले मञ्च व्यवसायीका हक अधिकारका मुद्दामा सधैं उभिने, तर संघले बाटो बिराए खबरदारी गर्ने बताए ।
मञ्चका महासचिव कुन्छा दोर्जे दिमदोङले सञ्चालन गरेको कार्यक्रममा गीतकार तथा संगीतकार फुल कुमार बम्जन, लोक गायक श्याम रानामगर, गायिका सुमन थापा, संगीता सारू मगरलगायतका कलाकारले नेपालका विभिन्न भेग र क्षेत्रमा गाइने लोकगीत, लोक दोहोरी र आधुनिक गीतका विविध प्रस्तुति दिएर कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष दिल प्रसाद पोखरेल, प्रेमबहादुर कटुवाल, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा महिला व्यवसायी सिता देवकोटा, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरि बहादुर पाण्डे क्षेत्री, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र ढकाल, संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, एशोसिएसन तथा मञ्चका वर्तमान पदाधिकारीहरु, पत्रकारहरुका साथै करिब ४ सय जनाको हाराहारीमा उपस्थिति रहेको वनभोज कार्यक्रमका संयोजक केदारनाथ अधिकारीले जानकारी दिए ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्यालले सहकारी ठगीमा आफनो कुनै पनि संलग्नता नरहेको भन्दै बचाउ गरेका छन् । केही दिनयता सार्वजनिक सञ्चारका माध्यमबाट मन्त्री अर्याल पार्टीका अन्य नेताहरूसँगै सहकारीको रकम अपचलनमा संलग्न रहेको दाबीसहित समाचार सार्वजनिक भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर ५ काठमाडौंले आउँदै गरेको नयाँ वर्षको अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले बजारमा हल्ला फिजाइएजस्तो गरी सहकारी ठगीमा आफनो कुनै भूमिका नरहेको दाबी गरे ।
उनले भने, ‘२०७८ सालमा म सो सहकारीको उपाध्यक्ष थिएँ । तर मेरो कार्ययोजना र सहकारी सञ्चालकसँगका बिचार मेल खान नसकेपछि मैले २०७८ साल पुस ११ गते नै राजीनामा दिएको हो, सरकारले समस्याग्रस्त घोषणा गरेको हाम्रो नयाँ कृषि सहकारीमा अहिले मेरो कुनै संलग्नता नभएको स्पष्ट गर्न चाहन्छु ।’
एक करोड लगानी गर्ने योजना बनाइ पहिलो किस्ता स्वरुप २३ लाख रुपैयाँ लगानी गरेको सार्वजनिक गर्दै मन्त्री अर्यालले सहकारीबाट आफ्नो उक्त रकम अहिलेसम्म फिर्ता नपाएको दाबी गरे ।
सहकारीको उपाध्यक्ष नियुक्त भएदेखि राजीनामा दिएसम्मको अवधिमा आफूले कुनै पनि कारोबार नगरेको दाबी गर्दै श्रममन्त्री अर्यालले सहकारीका रजिष्ट्रारको रोहबरमा नै आफूले उपाध्यक्ष पदबाट राजीनामा दिएकाले बदमासीको गुञ्जायस नरहेकोसमेत दाबी गरे । मन्त्री अर्यालले आफूले ठगी नगरेको भन्दैमा कुनै कालखण्डमा सहकारीमा आवद्ध भएकै कारण ठग हो भन्ने कसैलाई छुट नहुने जिकिर गरे । उनले आरोप लगाउनु पूर्व एक पटक अध्ययन गरेर मात्रै लेख्न र बोल्न सञ्चारकर्मीहरूसँग आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।
काठमाडौं : वैदेशिक रोजगारीका लागि माल्टा र क्यानडा पठाइदिने प्रलोभन दिएर २० लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
अर्जुन प्रसाद ढकालसमेत दुई जनालाई माल्टा पठाइदिने भन्दै १३ लाख ४४ हजार ४ सय रुपैयाँ ठगी गरेकोे उजुरीका आधारमा प्रहरीले पाँचथर तुम्बेवा गाउँपालिका वडा नं. १ घर भइ हाल ललितपुर महानगरपालिका वडा नं. १३ कुसुन्ती बस्ने हर्क बहादुर दाहाललाई पक्राउ गरेको हो । दाहालले माल्टालगायत युरोपका विभिन्न देशमा पठाइदिन्छु भन्दै आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने गरेको प्रहरी भनाइ छ ।
यस्तै प्रहरीले दिनेश लोहारसमेत ३ जनालाई क्यानाडा पठाइदिन्छु भनि ७ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा सुनसरीको बराक्षेत्र नगरपालिका वडा नं. १० घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. ३१ नयाँ बानेश्वर बस्दै आएका मनिष दाहाललाई पक्राउ गरेको छ ।
प्रहरीले बेरोजगार युवायुवतीहरुलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिएपश्चात विदेश नपठाइ सम्पर्कविहीन हुने प्रवृत्ति बढेको भन्दै सचेत हुनसमेत आग्रह गरेको छ ।
पक्राउ परेकाहरुलाई गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले बताएको छ ।
काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले रुसी सेनामा रहेका नेपालीलाई उद्धार गर्न अन्तरदेशीय समन्वय प्रभावकारी नहुँदा जटिलता देखिएको बताएका छन् । विभिन्न कारणले रुसी सेनामा भर्ना भइ जीवन जोखिममा पारेका नेपालीको ‘जीवन रक्षा अभियान’ले शुक्रबार गृहमन्त्री लामिछानेलाई भेटेर रुसी सेनामा रहेका नेपाली युवाहरुको जीवन रक्षा गरिदिन माग गरेको हो ।
जवाफमा गृहमन्त्री लामिछानेले रुसी सेनामा रहेका नेपाली युवाहरुको समस्याबारे प्रधानमन्त्रीसँग पनि तत्काल समन्वय गरी समस्या समाधानका लागि छलफल गर्ने बताए । गृहमन्त्री लामिछानेले रुसी सेनामा पठाउन रकम असूली गर्नेलाई पनि कानूनी दायरामा ल्याउने आश्वासन दिए ।
अभियानले गृहमन्त्री लामिछानेलाई रुसी सेनामा भएका ६ सय २० जना नेपालीको विवरण हस्तान्तरण गरेको छ । त्यसमध्ये ३९ जनाले रुस–युक्रेन सिमानामा ज्यान गुमाएको अभियानको दाबी छ ।
अभियानले सामाजिक सञ्जालमार्फत रुसी सेनामा आवद्ध ४ सय २० जना नेपाली दैनिक सम्पर्कमा रहेको र उनीहरुले प्रत्येक दिन युद्धस्थलबाट श्रव्यदृश्य सामग्रीमार्फत जानकारी पठाउने गरेको बताएको छ ।
अभियानले रुसले नेपाली युवाहरुलाई भाडाका सिपाहीका रुपमा भर्ती गरेपछि सिर्जना भएको समस्याका सम्बन्धमा सरकार, राजनीतिक दल, गैरसरकारी संस्था र सम्पूर्ण नेपालीको चिन्ता र सरोकारको विषय बन्नुपर्ने माग गरेको छ ।
परराष्ट्र मन्त्रालयले भने रुसी सेनामा भर्ती भएका १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ । रुसी सेनामा रहेका युवाका परिवारले हालपनि नेपालीलाई अवैधानिकरुपमा रुस पठाउने गरेको र बिचौलियाहरुले रुस युक्रेन युद्धमा फसेका युवालाई उद्धार गरिदिन्छु भन्दै रकम मोलमलाइ गरेर शोषण गर्ने गरेको भन्दै अभियानले बिचौलियाहरुलाई कारबाही गर्न गृहमन्त्रीसमक्ष माग गरेको छ ।
काठमाडौं : वैदेशिक रोजगारीका लागि मलेसिया तथा क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको उजुरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जानकी थापालाई वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक क्रोएसिया पठाइदिने भन्दै २ लाख ८७ हजार रुपैयाँ ठगीको उजुरीमा कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ३ घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. १३ ताहाचल बस्ने मदन सिंह ठगुन्नालाई काठमाडौं कुलेश्वरबाट पक्राउ गरेको छ ।
त्यसैगरी प्रहरीले मोहिद राईनलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने आश्वासन दिएर २ लाख ८७ हजार लिएका महोत्तरी बलवा नगरपालिका वडा नं. ९ घर भइ हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नं. १० कपन बस्दै आएका अजमत राईनलाई कपनबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई वैदेशिक रोजगार ऐनअनुसार अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies